फाइदामुलक व्यवसायमा लगानी गर्न पाउने गरी ऐन संशोधन गर्न सेनाको प्रस्ताव

खेमराज थापा
१६ साउन २०७७ १७:२३

काठमाडौं। नेपाली सेनाले सैनिक कल्याणकारी कोषको रकम फाइदामुलक व्यवसायमा लगानी गर्न पाउने गरी सैनिक संशोधनका लागि प्रस्ताव गरेको छ। सैनिक ऐन २०६३ ले कल्याणकारी कोषको रकम प्रबद्र्धक बन्न पाउने गरी लगानी गर्न रोक लगाएको छ। जसका कारण हाल कोषको रकमबाट फाइदामुलक भन्दा पनि सेवामुलक कामहरु हुँदै आएका छन्।

सेनाको प्राड विभागका प्रमुख मेजर जर्नेल रत्नप्रकाश थापाले अब कल्याणकारी कोषको रकमबाट प्रबद्र्धक बन्ने गरी लगानी गर्न पाउने गरी ऐन संशोधन गर्न प्रस्ताव गरेको बताए। शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हालै प्राड विभागको बैठकबाट ऐन संशोधनको मस्यौदा पारित गरेका छौं। हामीले यसमाम कल्याणकारी कोषको रकमबाट प्रबद्र्धक बन्न पाउने प्रावधान राखेका छौं।’

सेनाले प्रस्ताव गर्दैमा यो प्रावधान लागू भइहाल्ने भने होइन। सेनाले आफ्नो तर्फबाट गरेको प्रस्ताव सरकारले र संसदले कसरी लिन्छ त्यो भने बाँकी नै छ। त्यसै पनि सेना व्यापारी बन्ने गरेको आरोप लागिरहेको छ। अझ सेनाको यो प्रस्ताव स्वीकार भएर ऐन संशोधन भए सेना व्यापारी बन्नेबाटोमा अगाडि बढ्ने जोखिम छ।

सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले सैनिक ऐन संशोधनका लागि सेनाले आफ्नो तर्फबाट मस्यौदा बनाइरहेको जानकारी दिए। उनले भने, ‘सैनिक अदालतको कार्यक्षेत्रबारे सर्वोच्च अदालतले दिएको आदेशपछि सैनिक ऐन २०६३ संशोधन गर्नुपर्ने आवश्यकता भएको हो। त्यसैले संशोधनको मस्यौदाको काम भइरहेको छ।’

हाल सेनाको कल्याणकारी कोषमा करिब ५१ अर्ब रुपैयाँ छ। सेनाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहयाक रथी सागबहादुर केसीले गएको आर्थिक वर्षको कोषको गतिविधिबारे जानकारी दिँदै २०७७ असाढ मशान्तसम्म कोषमा ४५ अर्ब ८६ करोड ८० लाखअ मौज्दात र ५ अर्ब ७४ करोड, २४ लाख विभिन्न निकायमा लगानी रहेको जानकारी दिए। उनका अनुसार २०७६ असाढ मशान्तसम्म कोषमा ३८ अर्ब ५७ करोड ६१ लाख नगद मौज्दात रहेकोमा २०७७ असाढ मशान्तसम्म बढेर मौज्दात बढेर ४५ अर्ब ८६ करोड ८० लाख पुगेको हो।

सेनाका अनुसार कोषको ८५ करोड रुपैयाँ निक्षेप जोखिममा रहेकोमा गत आर्थिक वर्षमा करिब ८० करोड रुपैयाँ उठाइएको र अब जोखिममा ५ करोड २ लाख रहेको छ। कल्याणकारी कोषको मुख्य आयस्रोत भनेको शान्ति मिसनमा जाने सैनिकको पारिश्रमिकबाट काटिने रकम हो। त्यसपछि सेनाले सञ्चालन गर्ने अन्य सेवाबाट पनि कोषका लागि आयआर्जन हुन्छ। यसमा अस्पताल, शिक्षण अस्पताल, पेट्रोल पम्प, क्यान्टिनलगायतका छन्।

कल्याणकारी कोषको रकमबाट प्रबद्र्धक बन्न नपाएपछि सेनाले सो रकमबाट सेवामुलक र सीपमुलक कामहरु गर्दै आएको छ। सेनाले अस्पताल, शिक्षण अस्पताल, सीपमुलक तालिम केन्द्र, विद्यालय, छात्रवृति, औशाधि उपचारलगायतका कामहरु कल्याणकारी कोषको रकमबाट गर्दै आएको छ। कोषले सेनाका भूपु तथा वहालवाला र उनीहरुका आश्रित परिवारका सदस्यहरुलाई सेवा दिनेगर्छ। तर, चिकित्सा शिक्षा, इन्जिनियरिंग, नर्सिङ तथा विद्यालयहरुमा गैर सैनिक व्यक्तिले पनि पढ्न पाउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *