भारतीय सेनामा गोर्खा भर्तीबारे नेपालले समीक्षा गर्ने, सम्झौता निरर्थक भएको निष्कर्ष

डिसी नेपाल
१७ साउन २०७७ ९:०१

काठमाडौं। भारतसँग सीमा विवादका बीच नेपालले अब भारतीय सेनामा गोर्खासैनिकको भर्तीको विषयमा गरिएको सम्झौताको समीक्षा गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो सम्झौताका केही प्रावधान संदिग्ध भएको बताउँदै १९४७ मा गरिएको यो सम्झौता निरर्थक भएको बताएका छन् । नेपालमा यसअघि पनि नेपालीहरुलाई गोर्खा सैनिकमा भर्ती हुन रोक लगाउनुपर्ने आवाज उठ्दै आएको छ ।

समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन् ‘भारतीय सेनामा गोर्खालीको भर्ती अतीतको विरासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अतीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रिपक्षीय सन्धि निरर्थक भएको छ ।’

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती हुन रोक लगाउन माग गरेको थियो । उसले चीनसँग विवादका बीच भारतले नेपालीहरुलाई सीमामा तैनाथ गर्न चाहेको भन्दै भारतसँग पनि नेपालीलाई चीनसँगको सीमा क्षेत्रमा युद्धका लागि नपठाउन माग गरेको थियो । नेपाल एक स्वतन्त्र देश भएकोले भारतीय सेनामा काम गर्ने नेपाली युवालाई तेस्रो मुलुकविरुद्ध प्रयोग गर्न नहुने र यो नेपालको असंलग्न विदेश नीतिविरुद्ध भएको नेकपाले बताएको थियो ।

सेनामा गोर्खाली सैनिकको छुट्टै महत्व छ । भारतका पहाडी षेत्रमा धेरैजसो गोर्खाली जवान नै तैनाथ रहन्छन् । पहाडमा गोर्खालीजत्तिको कुशलतापूर्वक युद्ध अरु कसैले लड्न नक्ने पनि भन्ने गरिन्छ । भारतमात्र होइन बेलायतमा पनि गोर्खा सैनिकको छुट्टै रेजिमेन्ट छ । गोर्खालीको बहादुरीका कहानी विश्वभर प्रसिद्ध छन् । भारतका पूर्व सेना प्रमुख स्याम मानेक्शाले भनेका थिए ‘यदि कसैले मृत्युसँग डराउँदिन भन्छ भने या त ऊ झुट बोलिरहेको छ या त ऊ गोर्खाली हो ।’

गोर्खाली सैनिकको मुख्य हतियार खुकुरी हो र यो नै गोर्खालीको पहिचान हो । गोर्खा रेजिमेन्टका सैनिकलाई प्रशिक्षणपछि अनिवार्य रुपमा खुकुरी दिइन्छ । गोर्खाली सैनिक शारीरिक र मानसिक रुपमा निकै मजबुत हुन्छन् । भारतीय सेनामा ४२ हप्ताको कडा प्रशिक्षणपछि गोर्खाली सैनिक पोस्टिङमा जान्छन् । गोर्खाली बिना हतियार आमने–सामनेको युद्धमा निकै कुशल मानिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *