लिपुलेकमा चीन र भारतले बढाए सैन्य गतिविधि

डिसी नेपाल
१७ साउन २०७७ १९:०८

काठमाडौं। नेपाल, भारत र चीनको सीमा क्षेत्र लिपुलेकमा चीन र भारतले सैन्य गतिविधि बढाएका छन्। लिपुलेक त्रीदेशीय सीमा क्षेत्र हो। यहाँ नेपाल, भारत र चीनको सीमा जोडिन्छ। नेपालले नयाँ जारी गरेको नक्शाअनुसार लिपुलेक नेपालमा पर्छ। तर भारतले त्यसलाई आफ्नो भूमि भएको दावी गर्दै आएको छ। यो भारतले अतिक्रमण गरेको नेपाली भूमि हो।

तर, यसरी चीन र भारतले सैन्य गतिविधि बढाएको क्षेत्र भने ती दुई देशको आ आफ्नै भूमिमा हो। भारतीय सञ्चार माध्यमहरुका अनुसार चीनले लिपुलेक नजिकै करिब एकहजार जना सैनिकको एक बटालियन तैनाथ गरेको छ। र भारतले पनि त्यहाँ त्यति नै संख्यामा सेना तैनाथ गरेको छ। तर, यी दुई मुलुकले सो क्षेत्रमा सैन्य गतिविधि बढाए विषयमा आफूलाई कुनै जानकारी नभएको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए। उनले डिसी नेपालसँग फोनमा भने, ‘त्यहाँ कुनै सैन्य मुभमेन्ट बढेको हामीलाई जानकारी छैन। भारतीय सञ्चारमाध्यमहरु त्यसै पनि हल्ला गर्छन्।’

हालै गलवान उपत्यकामा चीन र भारतका सैनिक भिडेका थिए। जसमा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए। जुन १५ मा भएको सो घटनापछि भारत र चीनबीच तनाव बढेको छ। तर, पछिल्ला दिनहरुमा भारत र चीन दुबै मुलुक सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमत भएका छन्। र गलवान क्षेत्रमा परिचालन गरिएका आ आफ्ना सेनालाई पछाडि धकेलेका छन्।

लिपुलेक क्षेत्रमा फेरि दुई देशका सेना आमनेसामने बन्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यो विषयमा चिनियाँ पक्षको कुनै प्रतिक्रिया भने आइसकेको छैन। भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका खोल्ने सहमति भएको छ। सो सहमतिमा नेपालले भने आपत्ति जनाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *