सरकारले प्रभावकारी कदम नचाले भयावह स्थिति आउने विज्ञको चेतावनी

डिसी नेपाल
१८ साउन २०७७ १२:०४

काठमाडौं। सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। संक्रमितको संख्यामात्रै नभएर नेपालको कोरोनाबाट हने मृत्युदरसमेत बढेको छ। यसरी दैनिक कोरोना संक्रमित बढ्नु र मृत्युदरसमेत उच्च हुँदा सरकारले समयमै प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउने चिकित्सकहरुले चेतावनी दिएका छन्।

उनीहरुका अनुसार कोरोनालाई नियन्त्रण गर्न सरकारले प्रयाप्त कदम नचाल्दा भाइरस अबको केही हप्ताभित्रै भयावह हुने अवस्थामा आइपुगेको छ।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दिक्षीत सरकारले पीसीआर परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिए।

‘सरकारले गरेको कार्य व्यवस्थित भएन,संक्रमत कति जनालाई छ भनेर थाहा पाउने विधि भनेकै पीसीआर परीक्षण हो’, उनले भने, ‘पीसीआर परीक्षण झन्झन् घट्दै गएको छ, यसले राम्रो संकेत गरेको छैन।’  डा. दिक्षीतका अनुसार तराईमा कोरोना बढ्नुको प्रमुख कारण भारतसँगको सिमानामा कडाइ नहुनु हो।

उनले रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले अहिलेकै काम गराइले हिसावले अवको केही दिनमा नसोचेको अप्रिय घटना देख्नुपर्ने चेतावनी दिए।

दिक्षीतका अनुसार काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। उनले भने, ‘काठमाडौं उपत्यका भित्रिने नाकाहरु व्यवस्थित गर्नुपर्छ। काठमाडौं खतरामा छ।’ डा. दिक्षीतले कोरोना परीक्षण गर्दापनि रिपोर्ट दिन ढिलाई गरेको बिषय उठाएका थिए। सरकारले कोरोनाबारे दिने गरेको तथ्यांकलाई उनले बेकारको तथ्यांकको संज्ञा दिए।

दिक्षीतले भने, ‘वास्तविकता अर्कै छ। सरकारको काम भनेको त दुई वटा मात्रै हो, एउटा लकडाउन लगाउने र अर्को लकडाउन खोल्ने। त्योबाहेक सरकारले केही पनि जानेन। सरकारले दुई जिब्रे नीति अख्तियार गर्यो।’ सरकारले लकडाउन खोल्ने र बन्द गर्ने काम देखाएर मात्र कोरोनाको जोखिम नहट्ने उनले बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणलाई कम गर्न भारतबाट हुने आवातजावतमा रोक लगाउनु पर्ने बताए। काठमाडौंलगाएत भारतसँग सिमा जोडिएको क्षेत्रमा तत्काल कोरोना परीक्षण गर्नुपर्ने उनको भनाइ थियोर ‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्ने थिए’, उनले भने।

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक आफै सतर्क हुनुको विकल्प नभएको बताए। उनले लकडाउन खुल्यो भन्दैमा भिडभाडमा जान गलत हुने बताए ।

‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ। रेगुलर हात धुनुपर्छ। सामाजिक दूरी पालना गरौं।’ सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए। उनले भने, ‘संक्रमितहरु जो उपचारमा हुनुहुन्छ, उहाँहरुलाई परिवारका सदस्यहरुले पनि भेट्न पाउँदैनन्। यो ईमोशनलाई पनि सबैले बुझ्नुपर्छ।’ कोरनाबाट बच्ने एउटै मात्र उपाय नागरिक सचेत हुनुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *