रेडक्रसको तदर्थ समितिको पदवहाली

डिसी नेपाल
१८ साउन २०७७ २०:०६

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्। यही साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

पदभार ग्रहणपश्चात् अध्यक्ष डा तिम्सिनाले जनता, सरकार र साझेदारलाई रेडक्रसको अहिलेको स्थितिबारे स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने जानकारी दिए। आगामी सातासम्म नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै उनले रेडक्रसको लागि नयाँ ऐन ल्याउन राज्य पुनःसंरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल बताए ।

महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाइमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानूनी अवस्था सुधार गर्ने नै समितिको प्राथमिकता रहेको बताए । पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्वय डा विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकलगायतको उपस्थिति थियो ।

समितिका कोषाध्यक्ष सिताराम कोइरालाले रेडक्रसको आदर्श, सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात गर्दै रेडक्रसलाई जनसमक्ष लोकप्रिय बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र अन्य कर्मचारीले तदर्थ समितिलाई केन्द्रीय कार्यालयमा स्वागत गरे।

स्वागत तथा परिचय कार्यक्रममा नयाँ पदाधिकारी, सदस्यहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नियोग प्रमुख जेरम इम्स्टेफ, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ नेपाल कार्यालयका कार्यवाहक प्रमुख हार्भे गजेउ तथा अन्य रेडक्रसकर्मीहरुको उपस्थिति रहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *