देशभर कोरोना संक्रमण बढेपछि विज्ञसँग परामर्शमा प्रधानमन्त्री, देउवा र ठाकुर पनि सहभागी

डिसी नेपाल
२० साउन २०७७ १२:२२

काठमाडौं। राजधानी काठमाडौंसहित मुलुकका विभिन्न शहरमा कोरोना संक्रमणको प्रकोप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञसँग सामुहिक परामर्श गरिरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी परामर्शमा समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न विज्ञसँग परामर्श गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञसँग छलफल गरिरहेको जानकारी दिए।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो।

साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ। बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ। भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ। यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *