कोरोनाका कारण २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाए

डिसी नेपाल
२१ साउन २०७७ १८:११

काठमाडौं। कोरोना (कोभिड—१९)को महामारी र संक्रमण रोक्न गरिएको लकडाउनका कारण साढे २२ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन्।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको तथ्य सार्वजनिक गरेको छ। होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको र कटौती भएका मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेको छ । यस अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

लकडाउनको अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेका छन्। यसैगरी प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेका छन्।

लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा संचालन भएको पाइएको छ। यसैगरी ३५ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेको पाइएको छ। यसरी अधिकांश उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले लकडाउले अर्थतन्त्रमा गहिरो असर पारेको अध्ययनले औंल्याएको छ।

राष्ट्र बैंकले ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुलाई समेटेर सर्वेक्षण गरेको छ।

सर्वेक्षणमा शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ। बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम÷साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको छ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा लकडाउनको अवधिमा ७३.८ प्रतिशत उत्पादन घटेको जनाएका छन्। बन्दाबन्दी अवधिमा ८३.९ प्रतिशत उद्योग/व्यवसायहरुको औसत बिजुली खपत घट्नुले समेत सो तथ्यलाई थप पुष्टि गर्दछ। ठूलो परिमाणमा उद्योग÷व्यवसायहरुको उत्पादन÷कारोबार घट्नुले आर्थिक क्रियाकलापमा उल्लेख्य कमी आएको देखाउँछ।

लकडाउन रहिरहे उद्योग/व्यवसायहरुले आफ्नो उद्योग/व्यवसायलाई लामो समय निरन्तरता दिन नसक्ने देखिएको छ। सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुलाई लकडाउनपछि सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने समेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *