नेपालको कारागारमा ४० देशका एक हजार दुई सय ८७ कैदीबन्दी

डिसी नेपाल
२२ साउन २०७७ ७:०५

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) र रुकुम हत्याकाण्डको विरोधमा सहभागी ६ विदेशी नागरिक माइतीघर मण्डलाबाट पक्राउ परे।

सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएको अभियोगमा पक्राउ परेका तीन चिनियाँ, अमेरिकी, नर्वेजियन र अष्ट्रेलियन नागरिक केही दिनपछि थुनामुक्त भएपनि उनीहरुलाई निष्काषण प्रकृया अघि बढाइएपनि नेपालमै छन्। अन्तर्राष्ट्रिय उडान सुरू भएलगत्तै उनीहरूलाई नेपालबाट निष्कासन गरिने अध्यागमन विभागले जनाएको छ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार सबै जना जरिवाना तिरेर छुटेपनि पाँच जनालाई अन्तर्राष्ट्रिय उडान सुरू भएको १५ दिनभित्र निष्कासन गरिने छ।

नेपालीसँग विवाह गरेर वैवाहिक भिसामा नेपाल आएकी नर्वेजियन नागरिकलाई भने जरिवाना तिराइएर छाडिएको छ। नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानुनी हो।

सन् २०१९ मा मात्र विभिन्न कसुरमा मुछिएका ६ सय ७१ जना विदेशी नागरिकलाई निष्कासित गरेको थियो। यसमध्येको ओभरस्टेको कसुरमा पाँच सय ७८ र अन्य कसुरमा ९३ जना विदेशी नागरिकलाई निष्कासन गरिएको हो।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न अपराध गर्ने सात सय ३३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरू ज्यान, चोरी, संगठित तथा आर्थिक अपराध, सामाजिक, महिला तथा बालबालिका, सवारी र विविध सम्बन्धी अपराधमा पक्राउ परेका हुन्। आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न अपराधमा संलग्न ६ सय ७७ जना विदेशी पुरुष र ५६ जना महिला पक्राउ परेका थिए।

सामाजिक अपराध अन्तर्गत सार्वजनिक हित स्वास्थ्य, सुरक्षा र सुविधाविरुद्धको कसुरमा दुई सय ६३ जना विदेशी पक्राउ परेका थिए। यसमा दुई सय ३३ विदेशी पुरुष र ३० महिला पक्राउ परेका थिए।

त्यस्तै संगठित तथा आर्थिक अपराध अन्तर्गत लागू औषधमा एक सय ४४ पुरुष र ६ जना महिला गरी एक ५० जना विदेशी पक्राउ परेका थिए। सामाजिक अपराध अन्तर्गत सामाजिक शान्तिसुरक्षा विरुद्धको कसुरमा ६६ जना विदेशी पक्राउ परेका थिए।

नेपाल प्रहरीको तथ्यांकअनुसार ६१ जना साधारण चोरीमा ६१ जा चोरी, २० जना बैंकिङ कसुर र १९ जना जवरजस्ती करणीमा पक्राउ परेका थिए।

त्यसबाहेक डाका चोरी, कर्तव्य ज्यान, जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्रासम्बन्धी कसुर, सवारी ज्यान, हातहतियार खरखजना, जवरजस्ती करणी उद्योग, बालयौन दुराचार,अपराध वा शरीर बन्धक, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ, नापतौल, नागरिकता, सवारी अंगभंग, चिठ्ठा र बहुविवाहसम्बन्धी कसुरमा समेत पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७५/०७६ मा आठ सय ५७ जना विदेशी पक्राउ परेका थिए। यसमा सात सय ९३ विदेशी पुरुष र ६४ महिला पक्राउ परेका थिए। सामाजिक अपराध अन्तर्गत सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीत कसुरमा सर्वाधिक एक सय ८४ पुरुष र सात महिलासहित एक सय ९१ जना पक्राउ परेका थिए।

त्यस्तै लागू औषधमा एक सय ८४, साधारण चोरीमा ९१, ठगीमा ५७, सार्वजनिक अपराधमा ६९, सार्वजनिक शान्ति विरुद्ध ४५, हातहतियार खरखजानामा २९ र जवरजस्ती करणीमा २६, मानव बेचविखत तथा ओसारपसारमा १७ जना पक्राउ परेका थिए। त्यसबाहेक सवारी ज्यान, डाका चोरी, जवरजस्ती करणी उद्योग, जुवा, ज्यान मार्ने उद्योग, नागरिकता, बहुविवाह र बम विष्फोटनसम्बन्धी कसुरमा विदेशीहरू पक्राउ परेका छन्।

‘अधिकांश विदेशीहरू जानकारी नभएर जुलुस र आन्दोलनमा सहभागी भएका छन् माइतीघरमा भएको आन्दोलनमा पनि केहीलाई जानकारी भएको देखिन्छ भने केही रमाइलो हेर्न जाँदा पनि पक्राउ परेको देखिन्छ,’ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले भने।

उनका अनुसार ‘आर्थिक वर्ष २०७५/०७६ तुलनामा गत वर्ष विदेशी पक्राउको संख्या घटेपनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा पक्राउ पर्ने विदेशी नागरिकको संख्या धेरै नै छ। ओभरस्टे गरेर व्यवसाय गरिरहेका विदेशीलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ।

कारागार व्यवस्थापन विभागको तथ्यांक अनुसार हालसम्म नेपालका कारागारमा ४० बढी देशका एक हजार दुई सय ८७ जना विदेशी कैदीबन्दी छन्। ‘नेपालमा ४० भन्दा बढी देशका विदेशी नागरिकहरू कैदीबन्दीको रूपमा छन्,’ कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले भने। उनका अनुसार भारत, चीन र पाकिस्तानका नागरिकहरू धेरै छन्।

अध्यागमन विभागका अनुसार सन् २०१९ मा मात्र विभिन्न कसुरमा मुछिएका ६ सय ७१ जना विदेशी नागरिकलाई निष्कासित गरेको थियो। यसमध्येको ओभरस्टेको कसुरमा पाँच सय ७८ र अन्य कसुरमा ९३ जना विदेशी नागरिकलाई निष्कासन गरिएको हो।

ओभरस्टेबाहेक विदेशीहरू यौन दुराचार, बैकिंङ कसुर, पासपोर्ट र भिसा विना नेपाल प्रवेश, लागुऔषध, विदेशी मुद्रा अपचलन, ठगी र कल बाइपासलगायत कसुरमा मुछिने गरेका थिए। गत वर्ष ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *