कम्प्युटर विज्ञ आशुतोषको अमेरिकाको तालमा डुबेर मृत्यु

डिसी नेपाल
२२ साउन २०७७ २२:२९

वासिंगटन डिसी। अध्ययनका लागि अमेरिका आएका एकजना विद्यार्थी आशुतोष दाहालको तालमा ट्युविङ गर्ने क्रममा लडेर डुब्दा मृत्यु भएको छ।

अमेरिकाको मिनियापोलिसस्थित सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट दुईमहिना अघि मात्र कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेका दाहाल साथीहरुसँग पार्कमा घुम्न गएका बेला उनी एक्लै तालतिर गएको र दुर्घटनामा परेको बताइएको छ। समाचारअनुसार, अगष्ट १ तारिक शनिबारका दिन साथीहरुसहित दाहाल नजिकको पार्क घुम्न निस्केका थिए।

अरु साथीहरु भलिबल खेल्न थालेको र खुट्टाका सानो समस्या आएका कारण भलिबल नखेली बसेका उनी गर्मी महशुस भएपछि आफ्नै गाडीमा भएको ट्युव बोकेर नजिकको तालमा ट्युविङ गर्न जमघटबाट बाहिरिएर तालतिर लागेका थिए। बिग लेक नामको सो तालमा ट्युविङ गर्दा गर्दै तालको बीचतिर पुगेका उनी ट्युव पल्टेर तालमा खसेको र पौडिन असफल भएपछि तालमै डुबेर मृत्यु भएको बताइएको छ।

उनी र उनका साथी भाइले गतहप्ता अन्त्यमा उनको जन्मदिन मनाएका थिए। मिनियापोलिसमै बसोवास गर्दै आएका दाहालका साथी उज्वल निरौलाका अनुसार, पार्कमा भएका अरु साथी भाइलाई भन्दै नभनी ट्युव लिएर तालमा गएका उनी पौडी खेल्न जान्दैन थिए।

त्यसदिन भने लाइफ ज्याकेट पनि नलाई उनी ट्युविङका लागि तालमा गई दुर्घटनामा परे। निरौलाका अनुसार, उनी तालमा डुबेको २ घण्टापछि मात्र उनको मृत शरीर तालभित्र ९ फिट गहिरो स्थानमा प्रहरीले फेला पारेको थियो।

निकै राम्रो पढाइ र त्यसपछिको जागिर पनि निकै आकर्षक भएका दाहालको मृत्युले मिनियापोलिसको नेपाली समाज शोकाकुल भएको छ। कम्प्युटर विज्ञानमा उच्चतम अध्ययनसहित विज्ञ बन्न सफल भएका आशुतोष माता पिताका दुई छोरामध्येका जेठा हुन्।

कोरोना महामारीका कारण हवाइ उडान नहुँदा उनको मृत शरीर नेपाल लैजाने अवस्था सम्भव भएन। शोकाकुल परिवारले नेपालबाट कागजातहरु बनाइदिएर उनको अन्तेष्टि मिनियापोलिसकै एउटा शवदाह ग्रृहमा अगष्ट ४ तारिक मंगलबार गरिएको छ।

गर्मीको मौसममा तालमा घुम्न जाने र दुर्घटनामा परेर मृत्युवरण गर्ने नेपालीहरुको संख्या यो बर्ष निकै बढेको छ अमेरिकामा। केही दिनअघिमात्र टेक्सासमा हिकारु गौतम र अर्का एक युवा माछामार्न जाने क्रममा तालमा डुबेर ज्यान गुमाएका थिए भने साथीसँग घुम्न गएकी विद्यार्थी अस्मिता खनालले पनि बोटिंग गर्नेक्रममा टेक्सासमै एउटा तालमा डुबेर ज्यान गुमाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *