बारेकाेटका पहिराे पीडितकाे गुनासाे, ‘न गतिलो बास छ, न त खाने अन्न’
सांकेतिक तस्वीर
जाजरकोट । बारेकोट गाउँपालिका–४, ५ र ६ का पहिरो पीडित त्रिपालमा सुत्ने बाध्य छन् । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो।
पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् । जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु भन्दछन् “न गतिलो बास छ, न त खाने अन्न नै छ?”
झण्डै महिना दिन पुगिसक्दा पनि राज्यको तर्फबाट मन खुशी हुने खालको नयाँ कार्यक्रम तथा व्यवस्थापन नभएको विर्जित सार्कीले गुनासो गरे। “एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्दा कसरी व्यवस्थापन भएको होला?”, स्थानीय ७४ वर्षीय दुर्गा सार्कीले भने। अधिकांश त्रिपालमा बसाइ भएकाहरु नौ जनाभन्दा माथि नै रहेका छन्।
सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएका छन् । खानेपानीका पाइपहरु पहिरोले बगाएका छन् । खोलामा भल पिउन बाध्य भएको सर्वसाधारणको भनाइ छ । जङ्गलमा बास छ, कतिखेर सर्प लगायतका विषालु उभयचर प्राणी आउँछन्, के हुन्छ अत्तोपत्तो नभएको पीडितको भनाइ छ।
जङ्गलभरि त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना–साना बालबालिकालाई जङ्गली जनावर आएर मरिदिने डर भएको वडा नं ५ का प्रेम शाहीले जानकारी दिए। पानी पर्दा सबै पानी त्रिपालबाट घुसेर भित्र पस्दा अधिकांश दिन भोकै बस्नुपर्ने बाध्यता छ । खानेकुरास्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिए। पहिरोबाट बचेको मकै सलह किराले सखाप बनाउँदा हैरान भएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए।
विस्थापितलाई अहिले राम्रो ओत लाग्ने आवास र खानेकुराको आवश्यकता रहेको छ । राहत वितरणमा समेत पक्षपात भएको पीडित बताउँछन् । वडा नं ४ को वडा कार्यालय तालाबन्दी नै गरिएको छ । वडा ५ का खड्क शाहीका अनुसार आफूहरुको नाम काटेर आफन्तको नाम राखिएको छ।
पाखाटोलमा १९ जनाको नाम काटेर जनप्रतिनिधिका आफन्तको नाम राखिएको हो । विस्थापित बसेको जङ्गलमा शौचालय नहुँदा जङ्गलभसर फोहर बढिरहेको छ । बालबालिकामा स्वास्थ्य समस्यासमेत देखिएको छ । एक हजार दुईभन्दा बढी सर्वसाधारण विस्थापित भएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment