काठमाडौंमा लकडाउनमा भन्दा झनै कडाइ ! आज राती १२ बजेबाट के गर्न पाइने के नपाइने ?
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि लकडाउनमा भन्दा झनै कडाइ गर्ने तयारी थालिएको छ । यद्यपि कडाइ सबै क्षेत्रमा भने हुने छैन । केही निश्चित क्षेत्रमा भने लकडाउनमा भन्दा कडाइ गरिनेछ । काठमाडौंका मुख्य बजारहरुमा लकडाउनमा भन्दा कडाइ गरिँदैछ । आज राती १२ बजेबाट काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्यूरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र पूरै सिल सिल गरिने भएको हो । सिल गर्दा लकडाउनमा भन्दा कडाइ गरिन्छ ।
काठमाडौंमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । यी मुख्य व्यापारिक क्षेत्रहरुमा अत्याधिक भिडभाड हुने र संक्रमण फैलिने खतरा उच्च भएकोले यी क्षेत्र सिल गर्न लागिएको हो । सिल गरिएपछि यी क्षेत्र कहिले खुल्ने भन्ने अझै प्रस्ट भइसकेको छैन । पूरै उपत्यकामा भने १५ दिनसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाभित्रका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमण देखिएको ठाउँमा तत्काल सिल गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
उनले डिसी नेपाललाई दिएको जानकारी अनुसार उपत्यकाका सम्पूर्ण क्वारेन्टाइन स्थलहरुलाई आइसोलेसन बनाउने निर्णय भएको छ। विषेशतः क्वारेन्टाइन बनाइएका होटलहरुलाई आइसोलेसनमा परिवर्तन गरिने उनले जानकारी दिए। काठमाडौंमा कोरोनाको संक्रमण बढ्न थालेपछि अस्पतालहरुको आइसोलेसनले धान्न नसकिने भएकाले विशेषगरी होटलहरुलाई आइसोलेसनका लागि तयारी अवस्थामा राख्नका लागि कोभिड–१९ क्राइसिस् म्यानेजमेन्ट सिस्टम (सीसीएमसी)लाई सिफारिस गर्ने उनले बताए।
स्वास्थ्य मन्त्रालय र पर्यटन मान्त्रलयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डलाई कार्यान्वयन नगर्नेलाई कडा भन्दा कडा कारवाही हुने पनि प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यका भित्रका ३ वटै जिल्लामा संचालित सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति भएको छ। उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।
Facebook Comment