अवैध युरिया मल बरामद

डिसी नेपाल
२४ साउन २०७७ २०:३६

परासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ बाइपासचोकबाट दुई बोलेरो पिकअप गाडीसहित रु २१ लाख चार हजार ३०० बराबरको मल बरामद गरेको हो ।

महेशपुरबाट परासीतर्फ आउँदै गरेका ना४च ८३८८ र ना५च २९२६ नंको बोलेरो पिकअप रोकी सोधपुछ गर्ने क्रममा दुवै सवारी साधनबाट गरी १४९ बोरा अवैध युरिया मल ओसारपसार गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए। मलसँग सम्बन्धित कुनै पनि कागजात फेला नपरेपछि चालकसहित पिकअप र युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद मल प्रतिबोरा ५० केजीका दरले १४९ बोरामा सात हजार ४५० केजी रहेको छ । बरामद युरिया मलको बजार मूल्य प्रतिबोरा रु ७०० का दरले रु एक लाख चार हजार ३०० र प्रति पिकअप रु १० लाखका दरले दुई वटाको रु २० लाख गरी कूल २१ लाख चार हजार ३०० को सामान बरामद भएको प्रहरी उपरीक्षक केसीले बताए ।

बरामद गरिएको मल भारतबाट अवैधरूपमा भित्र्याई पोखरातर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । नियन्त्रणमा लिएको दुई पिकअप, दुई चालक र १४९ बोरा युरिया मल आजै आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *