चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति

काठमाडौं। चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आइतबार सहमति जुटेको छ । काठमाडौँ कामपाका प्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो । बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ ।

सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले रिटेनिङ वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ । सडक विस्तारका क्रममा भत्काउनु पर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन् ।

सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनःस्थापना गर्ने कामलाई दोस्रो चरणमा गरिनेछ । चक्रपथ विस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको प्रमुख शाक्यको भनाइ छ ।

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकूल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाइएको प्रमुख शाक्यले बताए। उनले भने, “आफ्नो जिम्मामा भएका कामलाई तत्काल गर्ने र अन्य निकायको जिम्मामा भएका काममा समन्वय गरेर काठमाडौँको समृद्धि बढाउँदै गएका छौँ । यसका लागि स्थानीय धार्मिक, सामाजिक सङ्घसंस्था तथा स्थानीयवासीको ठूलो सहयोग पाएका छौँ ।”

प्रवक्ता डङ्गोलका अनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक विस्तारमा सहयोग गर्ने निर्णय भएको छ । प्रतिवेदनमा रिटेनिङ वाल, दुई वटा प्रवेशद्वार, स्तूप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो