उपत्यकाका सबै नाकामा कडा चेकजाँच, काठमाडौं आउन पिसिआर रिपोर्ट अनिवार्य

डिसी नेपाल
२६ साउन २०७७ १२:२६

काठमाडौं। कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाहरुमा कडा चेकजाँच शुरु भएको छ। कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा कडाई गर्नुका साथै सबै नाकामा प्रहरीको उपस्थिति बढाइएको छ।

गृहमन्त्रालय वा जिल्ला प्रशासन कार्यालयको पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने प्रहरीले जनाएको छ।

प्रहरीले दक्षिणकाली,नागढुंगा, तिनपिप्ले, साँगा, साखु, नाकामा जाँच कडा पारिएको र अत्यावश्यक बाहेकका सवारी प्रवेश गर्न नदिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

उनका अनुसार काठमाडौमा एक्टिभ केश देखिएकाले कडाइ गरिएको हो। ‘काठमाडौंमा आठसय भन्दा बढी एक्टिभ केश देखिएको छ जसले गर्दा नाकाहरुमा कडाई गरिएको हाे। यसमा कमी नआउदासम्म जारी रहनेछ’, डिआइजी पोखरेलले भने।

उनका अनुसार पीसीआर परीक्षणको रिपोर्टबिना प्रहरीको आँखा छलेर जंगलको बाटोबाट उपत्यका प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्न गरिएको छ। एम्बुलेन्स, दमकल र खाध्यान्नका सवारीमा पनि मानिसहरु आउनसक्ने भएकाले उनीहरुको चेकजाँचमा पनि कडाई गरिएको छ।

धेरैजसो भक्तपुरको साँगा र नालाहुँदै चोरबाटो प्रयोग गरेर काठमाडौ आउने भएकाले ती ठाउँहरुमा पनि प्रहरीको सक्रियता बढाइएको डिआइजी पोखरेलको दावी छ।

उनका अनुसार विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको छ। प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आग्रह गर्दै आएको छ।

राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ। लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएपछि प्रहरी सक्रिय भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत छ। धेरैजसो संक्रमितहरु तराईबाट आएका र उनीहरुले छोएका व्यक्तिहरुमा देखिएको कारण पनि नागढुंगा र आसपासको मार्गमा प्रहरीले निगरानी बढाएको डिआइजी पोखरेलले बताए।

उनका अनुसार तराईबाट नीजि गाडीमा आउने र नाकामा आएपछि हिडेर काठमाडौ प्रवेश गर्ने गरेको पाइएपछि अबदेखि त्यसो गर्नेलाई पनि पक्राउ गरेर कारवाह गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *