मेरो रगतमा काँग्रेस छ, अर्को पार्टी खोल्दिन : जोशी
काठमाडौं। पार्टीको साधारण सदस्यसमेतबाट पाँच वर्षका लागि कारबाही गरिएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफूले अर्को पार्टी नखोल्ने बताएका छन्। उनले डिसी नेपालसँगको कुराकानीमा भने, ‘मेरो रगतमा काँग्रेस छ, म अर्को पार्टी खोल्दैन।’
गएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जोशीमाथि कारबाही गरिएको काँग्रेसले जनाएको छ। तर, आफूमाथि कारबाही गरिनु अन्याय भएको जोशीको भनाई छ। जोशीले भने, ‘ममाथि अन्याय भएको छ। टिकट बेच्नेहरुले मलाई अन्याय गरेका छन्। पौडेलले शंकर भण्डारीसँग टिकट बेचेका हुन्। म जन्तमजात नै काँग्रेस हुँ। कम्युनिष्ट पार्टी काँग्रेस बनेको होइन्।’ वरिष्ठ नेता पौडेलको राजनीतिक पृष्ठ भूमि कम्युनिष्ट भएको जोशीको भनाई छ।
जोशीले आफूमाथि कारबाही गरिएकोमा पार्टीका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य धनराज गुरुङको पनि तिखो आलोचना गरे। उनले भने, ‘रातो पासपोर्टमा मुछिएका व्यक्तिले मलाई कारबाहीको कुरा गरेका छन्।’
नेता जोशीले आफूले जीवनभर बीपी कोइराल र गणेशमान सिंहका लागि काँग्रेसमा लागेको बताए। तर, उनीहरुकै छोराहरुले आफूमाथि अन्याय हुँदा पनि केही गर्न नसकेको बताए। उनले केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र डा. शेखर कोइराला र महामन्त्री डा. शशांक कोइरालाले आफूमाथि कारबाही हुँदा पनि बचाउन नसकेको बताए। उनले भने, ‘देउवा र पौडेल मिलेर ममाथि कारबाहीको बहुमत पुर्याउनु भयो होला। तर, यी तीनजनाले पनि केही त भन्न सक्नु पर्यो नी।’
नेता जोशीले काँग्रेसको आगामी महाधिवेशनमा राजनीतिक मुद्दा सही ल्याएर आउने व्यक्ति नै नेतृत्वमा जानुपर्ने बताए। उनले अहिलेकै नेतृत्वले काँग्रेसको नेतृत्व गर्दैमा यो फगत चुनावमात्र हुने खासमा काँग्रेस नरहने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment