स्वास्थ्यकर्मीको मनोबल नगिराउनू : मुख्यमन्त्री पौडेल
फाइल फाेटाे
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्योपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न अनुरोध गरेका छन् । कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी एवं नागरिकमाथि दुव्र्यवहार हुने गरेको सन्दर्भमा आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना महामारीसंँग जुधिरहेको हाम्रो देशमा महामारीविरुद्धको युद्धमा अग्रमोर्चामा लडिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बेलाबेलामा दुव्र्यवहार हुनेगरेकामा दुःख व्यक्त गरेका छन् ।
“घरबेटीले नर्सलाई कोरोना सार्न सक्ने भन्दै कोठा छोड्न दवाव दिएको, स्वास्थ्यकर्मीहरुको सवारी साधन रोकेर दुव्र्यवहार गरेको, विभिन्न बहानामा हातपात गरेको तथा अपशब्दहरु प्रयोग गर्ने गरेको एवं संक्रमित चिकित्सकको मनोबल गिर्नेगरी बहीष्करण गरेका घटनाहरु बाहिरिरहेको छ, स्वास्थ्योपचारमा अहोरात्र खटिने आम स्वास्थ्यकर्मीहरुको मनोबल गिराउनुका साथै संक्रमित नागरिकहरुको मनोविज्ञानमा गम्भीर असर पर्न सक्नेतर्फ अलिकति पनि नसोची विवेकशून्य भएर गरिएका त्यस्ता क्रियाकलापको जति निन्दा गरे पनि कम हुन्छ, आपराधिक क्रियाकलाप गर्नेहरु कार्वाहीका भागीदार हुनुपर्छ र हुने नै छन्”, मुख्यमन्त्रीले सन्देशमार्फत भनेका छन् ।
पौडेलले सन्देशमा संक्रमितलाई दुव्र्यवहार नगरी माया, प्रेम र सद्भाव व्यक्त गरी हौसला प्रदान गर्न सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइमा अनुरोध पनि गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment