एनआरएनए मलेसियामा आरोप प्रत्यारोप, वरिष्ठ उपाध्यक्ष आलेमाथि साइवर मुद्दा

बिनेश खनाल
२ भदौ २०७७ १९:२२

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) मलेसिया यतिबेला आन्तरिक विवादमा चुर्लुम्म डुबेको छ। अध्यक्ष हरि भट्टराई र उपाध्यक्ष सुन्दर आले मगरबीच खिचातानी शुरु भएपछि यो विवाद अहिले मलेसियाको साइवर व्यूरोसम्म पुगेको छ।

उपाध्यक्ष आलेले सोमबार बेलुका फेसबुकमा एक स्टाटस लेख्दै अध्यक्ष भट्टराईलगायतका केही पदाधिकारीहरुको मिलेमतोमा स्थानीय प्रहरीमा आफूविरुद्ध झुटो मुद्दा दर्ता गराइ फसाउन खोजेको आरोप लगाएका छन्। उनले आफूले संस्था भित्र सदैव तन, मन, धन लगाएर काम गरेको दावी समेत गरेका छन्। निष्ठावान भएर काम गर्दा आफ्नै अध्यक्षले झुटो आरोपमा फसाउन खोजेको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्षलगायत संघ भित्रकै ब्यक्तीहरुले मलाई फसाउने तरिकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरिएको हुँदा राजदूतावास मलेसिया, विभिन्न संघ सस्था, साथै शुभचिन्तकहरुमा जानकारी गराउँदछु ।’ उनले आफूमाथि लगाइएको आरोप बारेमा छिट्टै सत्यतथ्य बाहिर आउने समेत लेखेका छन्। आलेले षड्यन्त्र रचेर आफूलाई फसाउन खोजिएको भन्दै जीवन रक्षाको माग पनि गरेका छन्।

सोमबार साँझ स्टाटस राखेका आले अहिले भने सम्पर्कविहीन छन्। यो बारेमा थप बुझ्न मंगलबार डिसी नेपालले आलेलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। तर, उनको नम्बर स्वीच अफ छ। त्यस्तै फेसबुक र ह्वाट्सएपमा पनि ‘एक्टिभ’ रहेको पाइएन।

डिसी नेपाललाई प्राप्त जानकारी अनुसार आले समुहकै एक जनालाई अहिले मलेसिया प्रहरीले हिरासतमा लिइसकेको छ। आले पक्षका सुनिल चालिसेलाई प्रहरीले साइवर मुद्दामै अनुसन्धान गर्न पक्राउ गरेको बताइएको छ। अध्यक्ष भट्टराईकै उजुरीका आधारमा नै आले समुहका चालीसेलाई पक्राउ गरेको दावी गरिएको छ।

मैले केही पनि गरेको छैन : अध्यक्ष भट्टराई

उपाध्यक्ष आलेले अध्यक्षकै योजनामा षड्यन्त्र रचेर आफूलाई फसाउन लागिएको बताइरहँदा अध्यक्ष भट्टराईले भने उक्त आरोपको खण्ड गरेका छन्। उनले आले र चालीसेलाई फसाउन आफूले कुनै जालसाजी नरचेको दावी समेत गरे।

उनले उपाध्यक्ष आलेमाथि उल्टै आरोप पनि लगाएका छन्। आलेले आफ्नै संस्था (एनआरएनए मलेसिया) र आफूलगायतका केही पदाधिकारीहरुको बदनाम गराउन निकटका पत्रकारहरु प्रयोग गरेर निर्धार आरोप लगाउँदै लेख्दै आएको भट्टराईको भनाइ छ । ‘उहाँ (उपाध्यक्ष आले) आफैले बरु बारम्बार म र संस्थविरुद्ध आफूनिकटका मिडियाहरुलाई गलत र भ्रामक विवरणहरु दिएर समाचार लेख्न लगाउनु हुन्थ्यो,’ क्वलालम्पुरबाट भट्टराईले डिसी नेपालसँग भने, ‘मैले बारम्बार संस्था भित्रका कुराहरु बाहिर गर्नु हुँदैन, केही चित्त नबुझेका कुराहरु भए आन्तरिक रुपमा बैठक बसेर गर्नुपर्छ भनेको थिएँ। तर, उहाँले त्यो सुन्नु भएन निरन्तर संस्थालाई बदनाम गराउन लागिरहनु भयो।’

आलेले मिडियामा झुटो विवरण दिएर संस्थाको बदनाम गराएपछि कैयौँ पटक बैठक बोलाएको पनि उनले बताए। तर, आले बैठकमै सहभागी नहुने उनको भनाइ छ । उनले भने, ‘मिटिङमा आउनुहोस, छलफल गरौँ भनेर धेरैपटक अनुरोध गरेँ। संस्थाको प्रतिष्ठामा आँच आउन दिनहुन्न, मिटिङमा बस्नुहोस भनेर आग्रह गरिरहेँ तर, उहाँले सुन्नु भएन।’

आलेले आफू र कोषाध्यक्षमाथि श्रमिकहरुलाई मिटर व्याजमा पैसा लगाएर सोझा नेपाली ठग्ने गरेको आरोप लगाएर समाचार प्रकाशित गर्न लगाएको आरोपसमेत लगाए। संस्थाको नै मानहानी हुने गरी केही अनलाइन मिडियामा निरन्तर रुपमा समाचार आउन थालेपछि आफूले यो बारेमा क्ववलाम्पुरस्थित नेपाली दूतावासका राजदूत उदयराज पाण्डेलाई पनि जानकारी गराएको उनको भनाइ छ। राजदुत पाण्डेले त्यो बारेमा आलेलाई बोलाएर आवश्यक सोधपुछ गर्ने आश्वासन दिएको समेत उनले बताए।

अहिले प्रहरी हिरासतमा रहेका चालिसे संस्थाको कुनै पनि पदमा नभएको उनले बताए। संस्था भित्रै नभएकासँग आफ्नो दुस्मनी नहुने भन्दै चालीसेलाई फसाएर आफ्नो कुनै स्वार्थ पूर्ती नहुने उनको दावी छ।

डिसी नेपालले उपाध्यक्ष आलेविरुद्ध मुद्दा र चालिसे पक्राउबारे सोधेको प्रश्नमा अध्यक्ष भट्टराईले भने, ‘मलाई यो बारेमा थाहा छैन। मैले र हाम्रो संस्थाले उजुरी गरेका छैनौँ। आफ्नै उपाध्यक्षको विरुद्धमा त्यस्तो गर्ने कुरा पनि भएन। यहाँको साइवर व्यूरोले उहाँहरुको बारेमा केही त्यस्ता कुरा जानकारी पाएर सोधपुछको लागि बोलाएको पनि हुन सक्ला। यहाँको साइवर व्यूरोमा कसैले उजुरी गर्नेपर्छ भन्ने छैन। केही त्यस्तो कुरा उनीहरुलाई लाग्यो भने आफै सोधपुछका लागि बोलाउन सक्छन।’

के हाे विवादको भित्रि रहस्य ? 

एनआरएनए मलेसियाको वर्तमान कार्यसमिति निर्विरोध चयन भएको कार्यसमिति हो। संघको छैटौ अधिवेशनले हरि भट्टराईको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको थियो।

एनआरएनए मलेसियाका अन्य पदहरुमा निर्विरोधका लागि सहमति जुटे पनि निर्वाचन हुन करिब एक हप्ता बाँकी रहँदासम्म अध्यक्षको लागि भने दुई जना दावेदार थिए। ती तत्कालिन महासचिव सुन्दर आले (हालका वरिष्ठ उपाध्यक्ष), र तत्कालिन कार्यकारी सदस्य हरि भट्टराई (हालका अध्यक्ष) हुन्।

अन्तिम समयसम्म उनीहरुले आफ्नो पक्षमा चुनावी प्रचारप्रसार गरिरहेका थिए। अन्य पदहरु सर्वसहमतिमा हुने लगभग निश्चित नै थियो। तर, अध्यक्षमा भने सहममति जुट्नै सकेको थिएन।

अन्य पदहरु सबै सहमति हुने भएपछि नेतृत्व पनि सहमतिमै गराउनुपर्छ भन्नेमा एसिया प्यासिफक क्षेत्रीय समिति, तत्कालिन मलेसियाका अध्यक्षलगायतका पदाधिकारीहरुको जोड थियो।सर्वसम्मत नेतृत्व चयनमा तत्कालिन अध्यक्ष खगेन्द्र न्यौपाने, कार्यसमिति, सल्लाहकार र अग्रज एनआरएनहरुले विशेष भूमिका खेलेका थिए। अन्नतः सहमति जुट्यो ‘भट्टराई अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आलेलाई दिइने भनेर।’ सोही अनुरुप त्यतिबेला सर्वसम्मत नेतृत्व चयन गरेर आफूमा मात्र नभएर विश्वभरका एनआरएनहरुमा राम्रो उदाहरण प्रस्तुत गर्न सफल भयो एनआरएनए मलेसिया। संसारभरका एनआरएनएले उदारणीय बनेको भनेर प्रशंसा गर्दे बधाई समेत दिए।

डिसी नेपाललाई विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार सहमति गर्ने बेला आलेले भट्टराई समक्ष एउटा सर्त राखेका थिए। ‘सहमति गर्ने भए आफ्नो चुनाव प्रचारप्रसारको बेलामा खर्च भएको पैसा भट्टराईले नै व्योहर्नु पर्छ भनेर।’ र, आलेले आफ्नो ३० लाख नेपाली रुपैँया खर्च भएको बताए। त्यो दिन भट्टराई तयार भएपछि सहमति टुंगिएको थियो।

त्यतिबेला भट्टराईले आलेलाई केहीदिन भित्रमा नै उक्त सहमति बमोजिमको पैसा दिने वाचा गरेको स्रोतको भनाइ छ। तर, पछि भट्टराईले उक्त पैसा आलेलाई नदिएको श्रोतले बतायो। बारम्बार पैसा माग्दा समेत भट्टराईले पैसा नदिएपछि उनीहरु दुईबीच विवाद बढ्दै गएको हो। यही नै उनीहरुबीचको विवादको भित्रि रहस्य भएको स्रोतको दावी छ।

तर, डिसी नेपालसँगको कुराकानीमा भट्टराईले उक्त कुरा अस्वीकार गरेका छन्। त्यतिबेला आलेसँग आर्थिक लेनदनको विषयमा आफूले कुनै सहमति नगरेको उनको दावी छ। ‘यो सबै भ्रामक कुरा हो। आर्थिक मामिलामा कुनै पनि सहमति भएको थिएन। यो हुनै नसक्ने कुरा हो,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *