‘फ्रन्ट लाइन’मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व हो : महामन्त्री डा कोइराला

डिसी नेपाल
८ भदौ २०७७ १४:५३

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताएका छन्।

उनले आज विज्ञप्तिमार्फत आइतबार नयाँ बानेश्वरस्थित स्वास्थ्यकर्मीको निवासमा भएको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै वर्तमानावस्थामा स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताएका छन्।

स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोगविना कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न असम्भव छ भन्ने सरकारलगायत नागरिकले बुझ्नु जरुरी रहेको महामन्त्री डा कोइरालाले बताए।

कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल भर्ना गर्नसमेत सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने कुरा हास्यास्पद भएको बताउँदै महामन्त्री डा कोइरालाले उक्त निर्णय तुरुन्त सच्याउन सरकारसँग आग्रह गरे। उनले आत्मबल बलियो बनाई सामाजिक दूरी कायम गरेर नियमित सरसफाइ र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *