श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह

डिसी नेपाल
८ भदौ २०७७ २२:५१

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह गरेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य एवम् सांसद डा डिला संग्रौलाले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण रोजगारी गुमाएर लामो समयदेखि खानका लागि समेत अरुको राहतको आशामा बसेका श्रमिकको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरिन्। नेतृ संग्रौला काँग्रेसले गठन गरेको छाया सरकारकी श्रम मन्त्रीसमेत हुन्।
विदेशमा समस्यामा परी फर्किनैपर्ने अवस्थाका हजारौं श्रमिकलाई शीघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुुपर्ने सो पार्टीको आग्रह छ ।

विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार तथा व्यवसाय गर्नेलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गर्नुपर्ने उनको सुझाव छ । साथै कोरोनाको सङ्कटभन्दा पहिले नै निधन भएका ७० भन्दा बढी नेपालीका शव विदेशमा अलपत्र रहेकाले यथाशीघ्र स्वदेश ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउन सांसद संग्रौलाको आग्रह छ ।

सरकारले हालसम्म झन्डै ५० हजार नेपालीलाई स्वदेश फर्काए पनि अझै खाडी मुलुक तथा मलेसियामा झण्डै पाँच लाख नेपाली स्वदेश फर्कन पर्खिरहेको उल्लेख गर्दै उनले तीमध्ये हजारौँ महिला, बेरोजगार तथा अशक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा नभएको बताएकी छन्। यस्तो अवस्थामा ती नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्नुपर्नेमा सरकारले चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खिरहेका नेपालीलाई युएईमा छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो काम गरेको भन्दै उनले त्यस्तो कामका लागि जिम्मेवार अधिकारीलाई तत्काल बर्खास्त गर्नसमेत माग गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *