कोरोना कहर : अस्पतालले भर्ना लिँदैनन्, रोग पालेर बस्नुपर्ने बाध्यता

धनकुमार कार्की
२२ भदौ २०७७ १३:२७

मोरङ। श्वास प्रश्वासकी बिरामी रहेकी आफ्नी हजुर आमा बिरामी परेको महिना दिन बितिसक्दा पनि रंगेली– १ का सुमन पराजुलीले अस्पताल भर्ना गर्न सकेका छैनन्। जाँच गर्न लगेपछि अस्पतालले भर्ना लिन मानेन्, बजारक्षेत्रमा कोरोना संक्रमणको डर र अस्पतालले बिरामी लिन नमानेपछि हजुरआमालाई घरमै फर्काएर ल्याएका छन्। ‘अस्पतालले भर्ना लिन मान्दैनन, एम्बुलेन्स पनि पाइँदैनन्, बुढाबुढीलाई कोरोनाले चाँडै भेट्छ भनेको छ भेटिहाल्यो भने झन ठूलो समस्या हुन्छ,’ उनले भने, ‘हजुरआमाले पनि कोरोना लागेर मर्नुभन्दा घरमै गएर मर्छु भनेपछि घरमै ल्याएका छौं।’

यो एउटा प्रतिनिधि घट्ना मात्र हो। कोरोना भाइरस महामारीसँग विश्व नै लडिरहेका बेला गाउँघरमा भने अधिकांश मानिसहरु रोगले थलिएर पनि घरमै बस्न बाध्य भएका छन्। कोरोना भाइरस संक्रमणको बेला बिरामीलाई अस्पताल पुर्याउनै महाभारत हुने गरेको छ। अस्पताल पुगेकालाई पनि गेटबाटै फर्काइन्छ।

लकडाउन सुरु भएदेखि कोरोना लगायत विभिन्न कारण देखाउँदै विराटनगरका अस्पतालले बिरामीलाई गेटबाट फर्काउने गरेका छन्। सुत्केरीदेखि वृद्धसम्म उपचार नपाएर छटपटाइरहेका छन्।

अस्पतालले भर्ना नलिएकै कारण एकपछि अर्काे मृत्यु

शौचालयमा लडेर घाइते भएकी मोरङ कानेपोखरीकी– ५ की २३ वर्र्षीया गर्भवती सविना थापा दर्जीलाई आफन्तले गत बुधबार राति विराटनगर पुर्याए। तर विराटनगरमा रहेका सरकारी र निजी अस्पतालले उनलाई भर्ना गर्न मानेनन् विराटनगरका अस्पताल चहार्दा पनि भर्ना लिन नमानेपछि एम्बुलेन्समा राखेर उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो। प्रतिष्ठानले सविनालाई भर्ना लियो, तर आधा घण्टा नबित्दै बिहीबार उनको ज्यान गयो।

पथरी शनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईको पिसाबमा समस्या देखिएपछि आफन्तले बुधबार नै उपचारका लागि झापा र मोरङका ६ वटा अस्पतालमा पुर्याए। तर कुनै पनि अस्पतालले भर्ना गरेनन्। बिहीबार बिहानीपख कोशी अस्पतालमा बल्लतल्ल भर्ना गरेको केहीबेरमा उनको मृत्यु भयो।

भात सर्किएर बेहोस भएकी चौदण्डीगढी नगरपालिका–६ उदयपुरकी ६५ वर्षीया डम्बरकुमारी बस्नेतलाई आफन्तले अघिल्लो शनिबार राति विराटनगर ल्याए। तर ७ वटा अस्पताल पुर्याउँदा पनि उनलाई कुनैले पनि भर्ना लिन मानेनन्। आफन्तले हार मानेर घर फर्काएको केही घण्टामै उनको मृत्यु भयो।

पथरी शनिश्चरे–१ का नवराज राईलाई जण्डिस भएपछि आफन्तले शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगे। तर उनलाई भर्ना गरिएन, गेटमा ३ घण्टासम्म रोकेर फर्काइयो। घर पुगेको केही समयमा उनको मृत्यु भयो।

अस्पतालले भर्ना लिन नमानेका कारण मानिसले ज्यान गुमाउनु परेको पछिल्लो एक हप्ताभित्र भएका प्रतिनिधि घटनामा मात्र हुन् यी। विराटनगरमा अस्पताल धेरै छन् तर उनीहरु कोरोना संक्रमणको जोखिम देखाउँदै जिम्मेवारीबाट पन्छिने गरेको अधिकांशले गुनासो गरेका छन्।

कतिपय अस्पतालहरुले जुनसुकै केशहरुमा पनि कोरोना भनेर भर्ना गर्न चाहँदैनन् भर्ना गरेपनि बिरामीलाई फोकस पुग्दैन। यसले गर्दा अधिकांश गाउघरका मानिसहरु रोग पालेर बस्न बाध्य भएका छन्। त्यसमा पनि बृद्धबृद्धा, सुत्केरी र दीर्घरोगीहरु सर्वाधिक जोखिममा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *