हेम-सरिता फाउण्डेसनद्वारा अमेरिकामा १० हजार डलरको छात्रबृत्तिको घोषणा

डिसी नेपाल
१ असोज २०७७ ९:४४

वासिंगटन डिसी। अमेरिकाको टेक्सास निवासी नेपाली समाजसेवी तथा भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठक र सरिता पाठकको हेम सरिता फाउण्डेसनले अमेरिकामा पढ्ने विद्यार्थीहरुमध्ये दक्षिण एशियाली मुलुकका १ जनालाई १० हजार अमेरिकी डलरको छात्रबृत्ति दिने घोषणा गरेको छ।

फाउण्डेसनकी अध्यक्ष जेनी पाठकले डिसी नेपालसँग कुरा गर्दै १० हजार अमेरिकी डलर राशीको सो पुरस्कार स्थापना गरेको जानकारी दिएकी हुन्। पुरस्कारका लागि फाउण्डेसनले टेक्ससकै ‘मायादेशी बुटिक’ सँग सहकार्य गरेको छ। यो बुटिक समाजसेवी पाठककी छोरीद्वारा सञ्चालित छ।

दक्षिण एशियाका देशबाट अमेरिका आई विभिन्न विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरुमध्ये आर्थिक समस्यामा परेकामध्येबाट अध्ययनमा तेज व्यक्ति छानेर पुरस्कार प्रदान गरिने फाेउण्डेसनका प्रमुख संरक्षक हेम पाठकले बताए।

उनले कागजपत्रविहिन अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अमेरिकाका कुनै पनि विश्वविद्यालयमा अण्डरग्य्राजुएट तहमा भर्ना भएका विद्यार्थीहरुमध्येबाट छनौट गरिने बताए। पहिलोपटकको पुरस्कारका लागि सन् २०२१ को स्प्रिङ्ग सेसनमा भर्ना हुने विद्यार्थीहरुले यो छनौट प्रकृयामा भाग लिन पाउने छन्।

पुरस्कार घोषणाबारे कुरा गर्दै पाठकले यसको छनौटका लागि छुट्टै छनौट समिति बनाइने र त्यही समितिको सिफारिसअनुसार एउटा एकेडेमिक क्यालेण्डरमा एकजनालाई सो पुरस्कार दिइने जानकारी दिए।

एकपटक पुरस्कार पाइसकेपछि सो विद्यार्थीले हरेक सेमेष्टरमा उच्चतम जीपीए प्राप्त गरिरहनुपर्ने हुन्छ। पुरस्कार पाएको अर्को सेमेष्टरमा सो विद्यार्थीले जीपीए मेन्टेन गर्न नसके अर्को सेमेष्टरदेखि सो रकम अर्कै योग्य विद्यार्थी छनौट गरी दिइने छ।

नेपालमा पनि गरीब विद्यार्थीहरुका निम्ति स्कूल भवनहरु निर्माण गर्नेमात्र होइन आफ्नै खर्चमा स्कूल नै संचालन गर्ने काम गरिरहेको हेम सरिता पाठक फाउण्डेसनले भ्रष्टाचार विरोधी गीत तथा कविता प्रतियोगिता गरेर नेपाल र नेपालीभाषीहरुमा सदाचारको अभियान संचालन गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *