जनकपुर आइपुग्यो नयाँ रेल, यस्तो छ नेपालमा रेल इतिहास

डिसी नेपाल
२ असोज २०७७ १८:०६

काठमाडौं। डिजेलबाट चल्ने इन्जिनसहितको ४ बोग्गी र एक इन्जिन भएको रेल शुक्रबार दिउँसो नेपाली भूमि आइपुग्ृयो। भारतको चेन्नईमा बनेको रेल चेन्नईबाट हिँडेको करिब एक महिनापछि नेपालमा आइपुग्दा अहिले रेल चर्चाको विषय बनेको छ। यो नेपालको आफ्नै रेल हो। नेपालले करिब ८४ करोड रुपैयाँमा यो रेल किनेको हो।

तर, नेपालमा रेल आएको यो पहिलो पटक भने होइन। नेपालमा रेल चलेको इतिहास निकै पुरानो छ। नेपालमा पछिल्लो पटक २००१ सम्म चलेको थियो। भारतको जयनगरदेखि नेपालको विलजलापुरसम्म २२ किलोमिटर चल्ने रेल त्यतिबेला दुई वटा पुल भत्केपछि बन्द भएको हो।

नेपालमा रेल पहिलो पटक रेल सन् १९२७ मा आएको हो। भारतमा शासन गरिरहेको बिट्रिश सरकारले नेपालमा रेल ल्याएको थियो। कोइलाबाट चल्ने सो रेल भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म चल्थ्यो। सो रेल सन् १९६५ सम्म चल्यो। यो रेलमार्गको लम्बाई शुरुमा ३९ किलोमिटर रहेको थियो।

नेपाली भूमिमा चलेको दोस्रो रेल जयनगर विजलापुर हो। यो सन् १९३७ मा सञ्चालनमा आएको थियो। यो रेल पनि बिट्रिश भारतीयले सञ्चालनमा ल्याएका थिए। जनकपुर–विजलापुर २२ किलोमिटरको रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको छ। यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गरिएको छ। यो विस्तार भइसकेकाले यही रुटमा चल्ने गरी नेपालमा तेस्रो पटक रेल आएको हो। यो रेलको इन्जिन भने डिजेलबाट चल्छ। यसअघिका इन्जिन वाष्प इन्जिन थिए। यसलाई जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किमिसम्म विस्तार गर्ने तयारी छ। भारतले निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा पर्छ।

५२ किमि दूरीमा सञ्चालन हुने गरेको जयनगर–जनकपुर–विजलापुर रेलको लिंक घट्दै, बाढीपहिरोले बगाउँदै जाने र आवश्यक मर्मत नहुँदा रेलमार्ग विस्तारै बन्द हुँदै गएको थियो। जीर्ण हुँदै गएको २९ किमिको दूरीमा मात्रै चल्ने रेल पनि सात वर्षदेखि बन्द छ। यही खण्डलाई पुनः मर्मत गरेर र दूरी बढाएर अहिले तत्कालका लागि ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्न खोजिँदै छ। यो दूरी ६९ किमिसम्म हुने गरी काम अघि बढाइएको छ।

नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६–६७ बाटै सुरु भएको हो। रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गर्‍यो। विभाग गठन भएको आठ वर्ष भइसकेको छ। सरकारले नेपाल रेल कम्पनी पनि स्थापना गरिसकेको छ। जसको महाप्रबन्धक गुरु भट्टराई हुन्।

ेशुक्रबार नेपाल आइपुगेको रेल जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको हो। सो कम्पनीलmे नयाँ दुई सेट रेल कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्ने रेल विभागका माहानिर्देशक बलराम मिश्रले जानकारी दिएको राससले उल्लेख गरेको छ।

नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल भारतको पटनास्थित हाजीपुर स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो। रेल विभागले २०१९ को मे महिनामा रु ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो। इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रु यात्रा गर्नसक्ने र प्रति बोगीको सिट क्षमता ७५ रहेको बताइएको छ।

रेलवे विभागका महानिर्देशक मिश्रका अनुसार सबै तयारी समयमै पूरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिन्छ। सरकारले २०७५ को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो। अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा दुरुस्त अवस्थामा छैन। २०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो। रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ। कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ। भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो। सन् २०१४ बाट ब्रोडगेज लिक निर्माणको काम शुरुवात भएको थियो। ३५ किलोमिटरको रेलमार्गमा ब्रोडगेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो यसमा स्टेशनहरु तयार नै छन्। भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि निर्माण गरेको छ।

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ। यसका लागि १२९ कर्मचारी भर्ना गरिँदैछ । कर्मचारी भर्नाका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी विज्ञापन समेत निकालेको छ। रेल्वे विभागले तीन दिन अगाडि मात्रै एक सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ।

यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो। नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो। नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिइसकेको छ। ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ। अप्राविधिक कर्मचारी नेपाल कै रहन्छ। कम्पनीमा अहिले रेल्वे इन्जिनीयरसहित मेकानिकल इन्जिनीयर, चालक, स्टेशन म्यानेजर, टिकट काट्ने र जाँच्नेलगायत कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जनाएको छ।

भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माण गरिएको छ। यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो। रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको थियो । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *