किन जान्छ झ्याप झ्याप विजुली ? प्राधिकरण के भन्छ ?

खेमराज थापा
१० असोज २०७७ १८:४५

काठमाडौं। पछिल्ला दिनहरुमा सामाजिक सञ्जालहरुमा निकै पोस्ट भइरहेको एक विषय हो – विद्युत आपूर्ति। देशका विभिन्न स्थानमा बस्नेहरुले फेसबुक, ट्वीटरमा आफू बसेको ठाउँमा विद्युत आपूर्ति कटौती भइरहेको विषय लेखिरहेको भेटिन्छ।

सामाजिक सञ्जाल हेर्दा देशभर कुनै न कुनै बेला विद्युत आपूर्ति कटौती भएको अनुमान गर्न सकिन्छ। के त्यसरी विद्युत प्राधिकरण कै नीति अनुसार विद्युत आपूर्ति कटौती गरिएको हो त? प्रश्न उठेको छ.

अहिले देशमा दैनिक ९०० देखि १४ सय मेगावाटसम्म विद्युतको माग रहेको विद्युत प्राधिकरणले जनाएको छ। र प्राधिकरणको क्षमता पनि मागअनुसार नै छ।

त्यसो भए किन समय सयममा आपूर्ति हुँदैन त? विद्युत प्राधिकरणका कार्यबाहक कार्यकारी निदेशक लेखनाथ कोइराला भन्छन्, ‘यो मौसमको कारण पनि विजुली जाने गरेको छ। वर्षातका कारण समस्य भएको छ। कतिपय स्थानमा तार चुँडिएका छन्, पोल ढलेका छन्, रुखले पनि समस्या निम्तिएको छ।’

२०७५  देखि देशमा लोड सेडिङ अन्त्य घोषणा गरिएको थियो। तर पनि स्थान विशेषमा भने विद्युत आपूर्ति नियमित थिएन। हालै आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणबाट अवकास लिएको छन्।

उनलाई नै फेरि कार्यकारी निर्देशक बनाउनुपर्ने भन्दै सडकमा प्रदर्शनसमेत भयो। तर, सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया शुरु पनि गरेको छैन भने हाललाई लेखनाथ कोइरालालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ।

कुलमानकै पालामानेपालमा लोडसेडिङ अन्त्य गरिएकाले उनको बहिर्गमनसँगै फेरि लोडसेडिङ हुने आशंका छ। त्यसैले पनि सामाजिक सञ्जालमा विद्युत आपूर्ति नभएपछि स्टाटसहरु आउने गरेका छन्।

तर कार्यबाहक कार्यकारी निर्देशक कोइरालाले त्यस्तो आशंका नगर्न आग्रह गरे। उनले डिसी नेपालसँग भने, ‘यो मौसमका कारण केही स्थानमा आपूर्ति अवरोध भएको हो। यसमा कुनै शंका गर्नुपर्ने कारण छैन। विद्युत आपूर्ति कटौती गर्नुअघि सूचना दिन भनेका छौं। र गुनासाहरु आए त्यसको तत्काल रेस्पोन्स पनि गर्न भनेका छौं। सूचना दिने र रेस्पोन्स गर्ने काम नियमित भयो भने आशंका मेटिन्छ भन्ने हाम्रो विश्वास छ।’

त्यसो ऊर्जा मन्त्रालयले पनि गुनासा सुन्न हटलाइनको व्यवस्था गरेको छ। ऊर्जा मन्त्रालयले ११५१ नम्बरको निःशुल्क हटलाइनको व्यवस्था गरेको छ। डिसी नेपालले शनिबार सो नम्बरमा फोन गरेर त्यहाँबाट प्रदान हुने सुविधाबारे जानकारी लिएको थियो। सो नम्बरमा फोन उठाएका एकजनाले डिसी नेपालसँग भने, ‘गुनासाहरुको बाढी नै आएको छ। सबै गुनासाको समाधान गर्न कठिन छ। तर जति सकिन्छ गुनासा समाधान गर्ने प्रयास गरेका छौं। जुन जिल्लामा समस्या आएको हो, त्यहाँका प्राधिकरण कार्यालय प्रमुखलाई सम्पर्क गरेर समाधान गर्न सुझाव दिने गरेका छौं। हामीबाट नहुने ठूलो समस्या भए मन्त्रीसम्म पुर्याउने गरिएको छ।’ उनका अनुसार हटलाइनमा दैनिक ३ हजार ५ सम्म फोन आउने गरेका छन्।

देशमा अहिले विद्युत आपूर्ति कभरेज करिब ८० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ। माग बिहान १४ सय मेगावाटसम्म हुने गरेको छ भने राति ७०० मेगावाट र दिनमा ९०० मेगावाटसम्म हुने गरेको छ।

नेपालको हालको उत्पादन दैनिक ११ सय मेगावाटसम्म छ। यसरी हेर्दा लगभग नेपाल विद्युतमा आत्म निर्भर बन्दै गएको देखिन्छ। अपुग भएपछि भारतबाटसमेत विद्युत आयत गरिएको प्राधिकरणका कार्यबाहक कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए। उनले भने, ‘आजभोली दैनिक २५ मेगावाट आयत गरिएको छ। औसत ५० मेगावाटसम्म आयत गरिन्छ।’ उनले भारतबाट बढीमा ३५० मेगावाटसम्म विद्युत आयत गर्न सकिने जनाए।

अब छिटै राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी विद्युत प्राधिकरणकै लगानीमा बनिरहेको माथिल्लो तामाकोशी ४५६ मेगावाट, रसुवा १११ मेगावाट र साञ्जेन ५७ मेगावाटका परियोजना छन्। यस्तै निजी क्षेत्रका परियोजनाबाट करिब ६ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने सम्भावना रहेको छ। यी परियोजनाबाट उत्पादन शुरु भए नेपालले विद्युत बेच्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *