डा. केसीलाई सरकारको जवाफः अनशन बसेर थप दबाब दिनु जरुरी छैन
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १८ दिनपछि अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारले अनशन तोड्न अनुरोध गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले कोरोना महामारीका बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय नभएको बताए ।
उनले डा. केसीका धेरै माग पुरा भइसकेको र कतिपय विषयहरु पुरा गर्न छलफल भइरहेको पनि बताए। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘उहाँका धेरै माग पूरा भइसकेका छन्। हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं। ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ। सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको छ। सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ। यसमा थप दबाब दिनु जरूरी छैन।’
यस्तै उनले पिसिआर परीक्षण बढाउनु पर्ने माग पनि सम्बोधन भइसकेकाले अहिलेको विषम परिस्थिति अनसन बस्ने बेला नभएको बताए। डाक्टर केसी विभिन्न माग राखेर १८ दिनदेखि अनशनमा बसेका छन्। सुरुमा जुम्लामा अनसन बसेका उनी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्।







डिसी नेपाल








Facebook Comment