शुक्रबार दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरू हुँदै

डिसी नेपाल
२१ असोज २०७७ १८:१५

काठमाडौं। आगामी शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको आयोजना गर्दैछ। विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो।

यसलाई निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० असोज २३–२५ गतेसम्म हुने एनआरएनले जनाएको छ। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि एनआरएनएले जनाएको छ।

भर्चुअल माध्यमबाट हुने सो सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पनि एनआरएनएले जनाएको छ। परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्।

त्यस्तै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ। सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन्।

विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ। साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ। परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु सहभागी हुनेछन्।
सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन्।

यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु माथि घनिभूत छलफल गरिने एनआरएनएका प्रबक्ता डिवी क्षत्रीले जानकारी दिए।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन्। यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि , वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्र ।

ती कार्यपत्र माथि सम्बन्धित विषयका विज्ञहरुले छलफल गर्नुहुनेछ। साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको छ। सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिनेपनि क्षत्रीले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *