माडीमा पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुने

डिसी नेपाल
२३ असोज २०७७ ८:४१

भरतपुर । चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ । माडी नगरपालिका–६ लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो । रु दुई करोड लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डिपिआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए ।

स्व नेता पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा निर्माण गरिएको बाटिकामा होटलसहितको भ्यूटावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको शालिक, वनभोजस्थल र सभाहल रहने उाले बताए । टावरबाट माडी नगरपालिकाका महत्वपूर्ण दृश्यसहित भरतपुरको गोलालघाटसम्मका दृश्य हेर्न सकिने गरी डिपिआर तयार गरिएको छ ।

पुष्पमदन बाटिका सञ्चालन समितिका उपाध्यक्ष श्री दवाडीका अनुसार भ्यूटावरलाई स्थानीय समुदायले नै सञ्चालन गर्ने तयारी गरिएको छ । कम्युनिटी जङ्गल लज नाम दिइएको सो टावर पाँच तलाको हुनेछ । टावरको माथिल्लो तलामा दूरबिन राखिएको हुनेछ भने प्रत्येक तलामा पर्यटकले दृश्यावलोकन गर्दै खाना खान सक्नेछन् ।

उपाध्यक्ष दवाडीले रु दुई करोड लागतमा बन्ने टावर अबको पाँच वर्षभित्रमा सञ्चालनमा ल्याउने योजना रहेको बताए । उनले अहिले समिति सभाहल निर्माणको काममा लागिरहेको बताए । पुष्पमदन बाटिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन प्रदेश सरकारले गत वर्ष रु एक करोड र यस वर्ष रु ४० लाख तथा सङ्घीय सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *