नेकपाले माफी माग्नुपर्छ भनेपछि बाबुरामले के भने?

डिसी नेपाल
२८ असोज २०७७ २०:२१

काठमाडौं। वर्तमान प्रधानमन्त्री र दुईजना पूर्व प्रधानमन्त्रीहरुले बढीगण्डकी जलविद्युत परियोजनामा ९ अर्ब रुपैयाँ बाडेर खाएको र त्यसको प्रमाण आफूसँग रहेको बताएपछि डा. बाबुराम भट्टराईलाई नेकपाले माफी माग्नुपर्ने बताएको छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ९ अर्ब बाँडेर खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सो विषयमा धारणा सार्वजनिक गर्दै बुधबार नेकपाले डा. भट्टराईले माफी माग्नुपर्ने बताएको थियो। नेकपाले माफी माग्नुपर्ने बताएपछि डा. भट्टराईले ट्वीटरमार्फत जवाफ दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊँ।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेका थिए। त्यसको जवाफ डा. भट्टराईले व्यक्तिगतरुपमा दिएका छन्। श्रेष्ठ र भट्टराई दुबै गोरखाका नेता हुन्। २०७४ को आम निर्वाचनमा भट्टराईले श्रेष्ठलाई पराजित गरेका थिए। श्रेष्ठ अहिले राष्ट्रिय सभाका निर्वाचित सांसद हुन्। राष्ट्रिय सभामा निर्वाचित सांसदलाई डा. भट्टराईले जस्केलाबाट छिरेको बताएका हुन्।

त्यसो त नेकपा र काँग्रेस दुबैले डा. भट्टराईलाई ९ अर्ब बाँडे खाएको प्रमाण सार्वजनिक गर्न चुनौति दिए पनि उनले हालसम्म प्रमाण भने देखाएका छैनन्। उल्टै उनी राजनीतिक भाषा बोलिरहेका छन्। उनले लोकपाल गठन गरौं सहयोग गर्छु भनेका छन्। तर, प्रमाण देखाएका छैनन्। राजनीतिमा नेताहरु मञ्चमा उभिएपछि जे पनि बोल्ने गर्दै आएका छन्। डा. भट्टराईले पछिल्लो पटक यस्तै बोलेको नेकपा र काँग्रेसको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *