मृतकको परिवारलाई रु १४ लाख बीमा रकम हस्तान्तरण

डिसी नेपाल
१ कार्तिक २०७७ २३:३१

दमौली। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत रु १४ लाख प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगार (म्यादी) बीमाअन्तर्गत रकम राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य तथा व्यास –१ का वडाध्यक्ष खरसिं दरैले पीडित परिवारलाई शनिबार हस्तान्तरण गरे। गत वैशाखमा वैदेशिक रोजगारका क्रममा बीमित पन्थको कतारमा निधन भएको थियो ।
चेक रकम हस्तान्तरण गर्दै सांसद पन्थले बीमा गर्दा सजिलो भए जस्तै दावी भुक्तानी गर्दा पनि विनाझण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिए।

वडाध्यक्ष दरैले बीमितको निधनपछि परिवारमा हुने अर्थाभाव कम गर्न पनि जीवन बीमा आवश्यक रहेको बताए। कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले जीवन बीमा अहिलेको पस्थितिमा अपरिहार्य भएको बताउँदै कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै व्यावसायिक सफलता प्राप्त गरेको बताए।

बीमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा रु एक लाख, किरिया खर्चबापत रु एक लाख, आय नोक्सानीबापत रु दुई लाख र बीमाङ्क रु दश लाख गरी कूल रु १४ लाख बराबरको चेक मृतकका बुबा भोलानाथ र श्रीमती निर्मलालाई हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए।

पहिरोपीडित परिवारलाई राहत

तनहुँका विभिन्न स्थानमा पहिराबाट ज्यान गुमाएका पीडितका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । भानु र व्यास नगरपालिकामा गत असारमा पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट रु पाँच लाख प्रदान गरिएको हो ।

भानु–९ का दुई मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट रु एक लाख र प्रदेश सरकारका तर्फबाट रु ५०/५० हजार हस्तान्तरण गरिएको छ । त्यस्तै व्यास –११ ओडारेका एक मृतकको परिवारलाई सङ्घीय सरकारका तर्फबाट रु एक लाख र व्यास –९ माझफाँटका चार मृतकको परिवारलाई प्रदेश सरकारका तर्फबाट रु ५०/५० हजार हस्तान्तरण गरिएको छ ।

भानु –९ सिमलगैह्रामा गत साउन ५ गते पहिरामा पुरिएर ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शीताष्मा धौरालीको निधन भएको थियो । ओडारेका ३८ वर्षीय पदम भुजेलको असार २९ गते निधन भएको थियो । त्यस्तै असार २९ गते नै माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अञ्जना थापा र २० वर्षीय राजेश थापाको मृत्यु भएको थियो ।

पीडित परिवारलाई राहत वितरण गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनताको दुःखमा सरकार साथमा रहेको बताए। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पहिरामा मृत्यु भएका परिवारलाई थप राहत दिने कार्यविधि बमोजिम व्यास–११ को भुजेलको परिवारलाई थप रु एक लाख प्रदान गरिएको जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *