शेयर लगानीकर्तालाई घरबाट नै केवाइसी भर्ने सुविधा

डिसी नेपाल
६ कार्तिक २०७७ १२:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई ग्राहक पहिचान–पत्र (केवाइसी) विवरण भर्ने व्यवस्था लचिलो बनाएको छ। विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका २०७७ जारी गर्दै बोर्डले विद्युतीय माध्यमद्वारा केवाइसी भर्न सकिने व्यवस्था गरेको हो।

कोभिड–१९ को महामारीले गर्दा लगानीकर्तालाई धितोपत्र व्यवसायी कहाँ गएर ग्राहक पहिचान भर्न असहज भएपछि बोर्डले निर्देशिका निर्माण गरेको हो ।

निर्देशिकामा ग्राहकको विद्युतीय केवाइसी दर्ता प्रतिनिधि, विद्युतीय केवाइसी प्रणालीको विकास, ग्राहकले धितोपत्र कारोबार वा सो सम्बन्धी सेवा लिन विद्युतीय केवाइसी दर्ता गर्नुपर्ने, केवाइसी विवरण प्रयोग, विवरणलाई परिष्कृत गरी लागू गरिने, ग्राहकको विवरणको गोपनीयता तथा सुरक्षा, विवरणको दुरुपयोग गरेमा कारबाही सम्बन्धी गरी सातवटा मुख्य व्यवस्था रहेको बोर्डले जनाएको छ ।

लगानीकर्ताहरुलाई धितोपत्र बजारमार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसँग सम्बन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउनको लागि यो निर्देशिका जारी गरेको बोर्डले विज्ञप्तीमार्फत जनाएको छ ।

सम्पति शुद्धिकरणसम्बन्धी कानुन अनुसार वित्तीय कारोबार गर्ने संघसंस्थाहरुले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक गरेर राख्नुपर्छ । सोही कानुन अनुसार केवाइसी विवरण राख्नका लागि बोर्डले सहजिकरण गरेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *