युरोप अमेरिका पठाउने भन्दै दलालको बिगबिगी, मुनलाइटमा छापा मारियो

डिसी नेपाल
७ कार्तिक २०७७ ६:४३

काठमाडौं। के तपाईं कामका लागि फेरि विदेश जाने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने होस् गर्नुहोस् है। युरोपका जर्मनी, माल्टा, पोर्चुगललगायतका देशहरु तथा अमेरिकासमेत सजिलै पठाइदिने भन्दै नक्कली विज्ञापनहरु निकालेर ठग्ने गिरोहको फन्दामा पर्ने धेरैको बिजोग भएको छ।

सामाजिक सञ्जाल फेसबुकसमेतको प्रयोग गरी युरोप र दुबईका पनि ठूला कम्पनीबाट माग आएको भन्दै कामदार आह्वान गरेर ठग्ने गिरोहले धेरै सर्वसाधारण नेपालीहरुको उठिबास लगाएका छन्।

यस्तै नक्कली डिमाण्ड देखाएर थुप्रै मानिसहरुलाई जर्मनी, पोल्याण्ड, क्रोएसियालगायत युरोपका देशहरुले नेपाली कामदार मागेको भन्दै पैसा उठाउने एउटा मेनपावर कम्पनीलाई सरकारले २४ घण्टे पत्र पठाएर हाजिर हुन आदेश दिएको छ।

ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट ओभरसिजले एउटै व्यक्तिबाट लाखौं असुल गरी अलपत्र पारेको सूचनाका आधारमा सो कम्पनीकी मालिक पार्वती खड्कालाई बुधबार २४ घण्टे पत्र पठाइएको छ।

श्रम मन्त्रालयअन्तर्गतको बैदेशिक रोजगार विभागले सो कम्पनीको कार्यालयमा बुधबार नै छापा मारी कम्पनीका सबै कागजातहरु पनि सिल गरेको छ। खड्काले कानुनअनुसार २४ घण्टामा विदेश पठाउन भन्दै रकम उठाउनु र विदेश पठाउन नसक्नुको कारण पेश गर्नु पर्ने छ। उनी विहीबारसम्म विभागका हाजिर भएकी छैनन्।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार, पीडितहरुको उजुरीका आधारमा सो कम्पनीलाई बैदेशिक रोजगारीको कुनै पनि कारोवार नगर्नू भनी आदेश दिइसकिएको छ। उनले भने, ‘ठगीबारे थप अनुसन्धान भइरहेको छ।’

समाचारअनुसार, सो ओभसिजमा ३ सयवटा पासपोर्ट जम्मा गरेर राखेको पाइएको छ। बि सं २०७४ सालको एउटा डिमाण्डपत्र देखाएर २०७७ सालका लागि मनिसहरुसंग लाखौं लाख पैसा उठाइएको पाइएपछि सो कम्पनीमा छापा मारिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *