अमेरिकामा प्रतिष्ठा कमाएका विद्धान भन्छन्- म नेपाल फर्कन चाहन्छु

डिसी नेपाल
२१ कार्तिक २०७७ ७:४७
948
Shares

वासिंगटन डिसी, अमेरिका । दिमाग र फोक्सोको क्यान्सरको अनुसन्धानमा युरोप र अमेरिकामा महत्वपूर्ण उपलब्धी हासिल गरेका डा.राजेन्द्र पंगेनीले आफू नेपाल फर्किने तयारीमा भएको बताएका छन्। उनले फोक्सोको क्यान्सरको फैलावटबारे नयाँ तथ्य पत्ता लगाएका थिए। उनले पत्ता लगाएको तथ्यमा अमेरिकामा थप अनुसन्धान भइरहेको छ।

डिसी नेपालको ‘द इन्टलेक्च्युअल फोरम’ कार्यक्रममा अन्तर्वार्ता दिंँदै डा.पंगेनीले नेपालमै अनुसन्धान केन्द्र खोलेर मुलुकमै बसेर काम गर्न चाहेको बताए।

उनले भने, ‘ म नेपाल जान चाहान्छु तर म कहाँ जाने ? मेरी ४ कक्षमा पढ्दै गरेकी छोरीका लागि उपयुक्त विद्यालय खोजेर शहरमा बस्नुपर्ने अवस्था छ, तर म नेपालको पनि आफ्नै गाउँमा गएर केही काम गर्न चाहन्छु ।’

सामाजिक सञ्जाल फेसबुकमा नेपाल फर्कौं अभियानको समेत नेतृत्व गर्दै आएका डा. पंगेनीले आफू र आफ्नो टिमले नेपालमा एउटा अनुसन्धान केन्द्र घोषणा गर्न लागेको र एक दुईमहिनाभित्रै सो सेन्टर खोली त्यसमा विदेशमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्केका वा फर्कन चाहने विद्धानहरुलाई सहभागी गराउन चाहेको बताए।

उनले आफूभन्दा अघिल्लो पुस्ता जो हार्डवर्ड, क्याम्ब्रिज, अक्सफोर्ड फर्किएका थिए उनीहरु नेपालमा रुपान्तरण गर्न चुकेको तर्क गरे। तर, आफ्नो पुस्तालाई चुक्ने छुट नभएको भन्दै नेपाल र नेपालीका लागि काम गर्न तयार रहेको संकल्प पनि उनले गरेका छन्।

विश्वविद्यालयहरु पढ्दाको समयमा आफूले गरेको संघर्ष सुनाउँदै उनले भने, ‘मैंले होटलमा भाँडा माझें, पेट्रोल पम्पमा काम गरें, डान्स बारमा काम गरें र दुख गर्दै पढेको हुँ। घरबाट पुग्ने पैसा ल्याएर पढ्ने स्थिति थिएन, तर बुबा, दाइले गरेको सहयोगले म अघि बढ्न सकेको हुँ।’

अमेरिकाको क्यालिफोर्नियास्थित सिटी अफ होप नेशनल मेडिकल सेन्टरमा कार्यरत रही ब्रेन क्यान्सरबारे पीएचडीपछिको अनुसन्धानमा लागेका उनका अनुसन्धानका परिणामहरुबारे थुप्रै अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु प्रकाशित भइसकेका छन् र विद्धानहरुले उनको अनुसन्धान उपलब्धीहरुमाथि थप अनुसन्धान गरिरहेका छन्।

आफ्नो शैक्षिक उपलब्धी, अध्ययन गर्दाको संघर्ष र देश फर्किने अभियानबारे उनले डिसी नेपालका विवेक पौडेलसँग विस्तृत कुराकानी गरेका छन्।

डा. पंगेनीसँगकाे भिडियाे संवाद


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *