परदेशी महिलाको दुःख श्रृंखला : नेपालदेखि कतारसम्म प्रेमको नाटक, दुई वर्षको कमाइ खाएर धोका – Dcnepal

परदेशी महिलाको दुःख श्रृंखला : नेपालदेखि कतारसम्म प्रेमको नाटक, दुई वर्षको कमाइ खाएर धोका

सांकेतिक स्केच


काठमाडौं। जीवन नियतिले डो-याउँछ। हामी नियतिलाई नबुझेरै भएपनि उसको विपरित गतिमा आफूलाई हिडाउँन खोज्छौं। मनमा अनेकौं अपेक्षा पलाउछन्। जब मनमा अपेक्षाले जन्म लिन्छ, प्राप्तिकालागि मान्छेले अनेकौं मार्ग खोज्न थाल्छ।

मार्ग खोजीको विक्षिप्ततामा रहेको मनले सही र गलत छुट्याउन सक्दैन। कसैले हात थाम्ने आश्वासनलेमात्र नयाँ जीवनको अनुभूति हुन्छ र हामी आखाँ बन्द गरेर विश्वास गर्न थाल्दछौं। मानवीय स्वभाव पनि हो। सूर्यपुत्र कर्णले पनि विक्षिप्त भएको मनलाई सान्त्वना दिएकै कारण जीवनभर अधर्म गर्नु परेको थियो।

गोरखाकी मुना कुँवर (नाम परिवर्तन) ले पनि आफू अधर्मको सिकार भएको अनुभूति गरेकी छन्। न होस् पनि कसरी जीवनमा टेक्ने जमीन भासिएपछि, जीवनको डोरी चुडिएपछि, एक पाङ्ग्रे रथ झैं भएपछि जीवन व्यतित गर्न अन्तिम पटक पखेटा चलाउनुको विकल्प थिएन।

आमाबुबाको काखमा रहेर सुन्दर जीवनको परिकल्पना गर्ने १४ वर्षको कलिलै उमेरमा परिवारले विवाह गरिदिए। बाल्यअवस्था पार गरेर किशोर अवस्थामा पुग्दा उनी जन्मघर छोडेर कर्मघर पुगेकी थिइन्। आफूसँगैका दौतरीहरु आफ्ना वावुआमाको काखमा रमाइरहेका बेला उनले भने नयाँ घरमा वुहारीको जिम्मेवारी निर्वाह गर्न थालिसकेकी थिइन्। यो उनको रहर नभएर बाध्यता थियो।

बिहेपछि उनका दिनहरु सामान्य रुपमा घरको काम गर्दै बित्दै थिए। बिहे गरेको २ वर्षपछि उनको कोखबाट छोरा जन्मियो। आमा बन्ने बेला उनी भर्खरै १६ वर्ष पुगेकी थिइन्। उनले विवाह गरेर गएको घरको आर्थिक अवस्था पनि कमजोर नै थियो।

गाउँमै जीवन निर्वाह गर्न श्रीमानको कुनै जागिर थिएन। भएको पुख्र्याैली सम्पत्तिमा पसिना बगाउँदा जेनतेन ६ महिनालाई मात्रै खान पुग्दथ्यो। आर्थिक अवस्था राम्रो नभएपछि यो दम्पत्तिलाई घर कसरी चलाउने र छोराको पढाइलेखाइको खर्च कसरी जुटाउने चिन्ताले पिरोल्न थाल्यो।

मुनाले चित्रबहादुरको मोबाइलमा बच्चीहरुको फोटा देखिन्। उनको मनमा चिसो पस्यो। त्यो फोटोबारेमा सोध्न थालिन्। मुनाले दवाव दिएपछि चित्रबहादुरले साँचो कुरा भने। उनी विवाहित रहेछन्। दुई वटा जुम्लिया छोरी समेत रहेछन्। मुना छाँगाबाट खसेजस्ती भइन्। उनले बुनेका सपना सबै तुहिए। उनी रुन, कराउन थालिन्।

नेपालमै काम गरेर परिवार पाल्नलाई कुनै उपाय नदेखेपछि उनका श्रीमानले विदेशीने योजना बनाए। अन्ततः परिवारकै सहल्लाहमा उनका पति रोजगारीका लागि मलेसिया उडे। सोचेजस्तो आम्दानी नभए पनि मलेसियाको कमाइले उनीहरुको परिवार चलिरहेकै थियो। करिव ४ वर्षपछि मलेसिया बसेर उनका श्रीमान स्वदेश फर्किए। बाध्यताले लामोसमय टाढिएका श्रीमान घरमा आउँदा उनी निकै खुशी भएकी थिइन्। परिवारमा पनि रमाइलो छाएको थियो।

तर, दैवको नियती भनौं मुनाको मुहारमा यो खुशी धेरै दिन टिक्न सकेन। उनीहरूको परिवारमा छाएको त्यो खुशी केही दिनमै दुःखमा परिणत भयोे। मलेसियाबाट फर्किएको ४ दिन नबित्दै उनका श्रीमानले संसार छाडे। २१ वर्षकै उमेरमा उनी एक्लो भइन् । सुन्दर भविस्यको सपना बुन्दै हाँसीखुसी जीवन बिताउने उनको सपना चकनाचुर भयो। अज्ञात रोगका कारण श्रीमानको निधन भएको उनलाई लाग्यो।

‘आखिर जे भए पनि चित्त त बुझाउनै पर्यो,’ उनले विगत सम्झिएर मन भारी बनाउँदै भनिन्, ‘चिन्ता त बाँचेकोलाई पर्दाे रहेछ । छोराको मुख हेरेर जिन्दगीमा संघर्ष गर्ने अठोट गरें ।’

हुर्कदैँ गरेका छोराको एउटै सहारा थिइन उनी। श्रीमान बितेपछिका दिनहरु निकै कष्टकर थिए उनका। उनलाई काम चाहिएको थियो । गाउँमा काम नपाएपछि उनी काम खोज्दै काठमाडौं आइन्। कामको खोजी गर्दै काठमाडौंमा भौतारिन थालिन्। सामान्य पढाइलेखाइ मात्रै गरेकी उनले राम्रो काम पाउने कुरै भएन। आफूसँग काठमाडौंमा विभिन्न काम गरेको अनुभव रहेको उनी बताउँछिन्।

‘काठमाडौंमा मैले धेरै दुःख गरेकी छु। होटलमा भाँडा माझ्ने, घरहरुमा खाना बनाउने, सरसफाइ गर्नेदेखि लिएर कम्पनीहरुमा सुरक्षा गार्डको काम पनि गरेकी थिएँ,’ उनले सुनाइन्।

यसरी काठमाडौंमा उनका दिनहरु बित्दै थिए। उनको ध्येय दुःखलाई सुख सम्झेर अगाडि बढ्नुपर्छ भन्ने थियो। एकदिनको कुरा हो, काठमाडौंमा उनको सिन्धुलीका चित्रबहादुर रिजाल नाम गरेका व्यक्तिसँग चिनजान हुन्छ।

आफ्नो भाइलाई रोजगारीको लागि कतार पठाउने सिलसिलामा चित्रबहादुरसँग उनको भेट भएको थियो। मुनाका अनुसार चित्रबहादुर त्यसभन्दा अघि कतार बस्थे। चिनजानपछि नेपालमा करिब ८ महिनासम्म उनीहरुबीच कुराकानी भयो। नेपालमा रहँदा सामान्य कुरा मात्रै हुने उनले बताइन्।

पछि मुनालाई पनि रोजगारीका लागि विदेश जाने इच्छा जाग्यो। उनले कतारमै रहेका दाइ र भाइसँग सल्लाह मागिन्। दाजुभाइले आफूहरु भएकै देशमै आउन सल्लाह दिए। उनले कतारका लागि भिसा लगाइन्। भिसा आएपछि २०७५ सालको जेठ २ गते उनी कतारका लागि उडिन्।

चित्रबहादुरसँग उनको कुराकानी चलिरहेकै थियो। कतार उड्दा पनि दुवै जना एकैदिन उडेका थिए। तर, फ्लाइट भने फरक थियो। नेपालमा कुरा हुँदा चित्रबहादुरले मिनालाई कतारमा आफूले सहयोग गर्ने बताएका थिए। किनभने उनी पहिला पनि कतारमा बसेका थिए। पछिल्लो पटक चित्रबहादुर व्यवसाय गर्न विजनेस भिसामा गएका थिए।

मुना दोहामा रहेको अलक्मर क्लिनर कम्पनीमा सरसफाइको कामका लागि गएकी थिइन्। १ महिनापछि चित्रबहादुरले भिसा चेन्ज गराएर मुनालाई आफ्नो कम्पनीमा ल्याए। चित्रबहादुरले एक सिरियन नागरिकसँग मिलेर सरसफाइ मजदुर आफूर्ती गर्ने ढाका क्लिनर नामक कम्पनी सञ्चालन गरेका थिए।

चित्रबहादुरले मुनालाई १ हजार तलब र २ सय खानाको गरेर जम्मा १२ सय कतारी रियाल दिने बताएका थिए। त्यहाँ काम गर्न शुरु गरेको केहीदिनपछि चित्रबहादुरले मुनालाई आफूले मन पराउने बताए। नेपालमा चिनजान हुँदादेखि नै आफूले मन पराउन थालेको चित्रबहादुरले बताउँथे।

आफूले धेरै माया गर्ने भन्दै मुनालाई आफूसँग विवाह गर्न उनले दवाव दिन थाले। चित्रबहादुरले विहे नगरे सुसाइड नोटमा मुनाको नाम लेखिदिएर आत्महत्या गर्ने धम्की दिन्थे। बारम्बार माया गर्छु, तिमीबिना बाँच्नै सक्दिन भनेपछि मुनाको पनि चित्रबहादुरप्रति विस्तारै माया पलाउँदै गयो। आखिर मुनालाई पनि त जिन्दगीमा कसैको साहारा चाहिएको थियो। उनले चित्रबहादुरलाई विश्वास गरिन्। चित्रबहादुरको माया स्वीकार गरिन्। विहे भने नेपाल फर्किएपछि मात्रै गर्ने मुनाको प्रस्ताव थियो।

‘कमाउनको लागि गएकी थिएँ। विदेशमा कसैसँग माया प्रेम बस्ला, विहे गरौँला भन्ने त मेरो कल्पनामै थिएन,’उनले भनिन्,‘बारम्बार म बिना बाँच्नै सक्दिन, माया स्वीकार नगरे आत्महत्या गर्छु भनेपछि प्रेम प्रस्ताव स्वीकार गरेकी हुँ।’ मुनालाई पनि चित्रबहादुर निकै राम्रो लाग्थ्यो। विदेशमा चित्रबहादुरले गरेको सहयोग तथा स्नेहले पनि मुनाको मन पग्लिएको थियो।

मुनाका अनुसार चित्रबहादुरको बोली निकै मिठो थियो। देख्दा पनि राम्रै थिए चित्रबहादुर। व्यवहार पनि राम्रो थियो। यी सवै गुणले आफ्नो मन जितेको मुना बताउँछिन्। उनले भनिन्, ‘व्यवहार देख्दा इमान्दार लागेर विश्वास गरेकी हुँ। मैले पनि आफ्नो विगतको बारेमा केही ढाँटेकी थिइनँ। सबै बताएकी थिएँ।’

चित्रबहादुरले आफूले निस्वार्थ माया गरेको बताउँदै विगतका कुरालाई आफूलाई असर नपर्ने मुनासँग बताउने गर्थे। चित्रबहादुरले आफू अविवाहित भएको बताएका थिए। यसरी मुना पनि चित्रबहादुरको मायामा डुब्दै गइन्। आफूसँग विगतमा भएका सबै कुरा बताउँदा बताउँदै पनि आफूलाई त्यत्ति धेरै माया गरेको देखेर मुना अचम्म पर्थिन्। त्यसलाई उनले चित्रबहादुरले आफूप्रति गरेको त्याग सम्झिन्थिन्।

यसरी उनीहरुको दिनप्रतिदिन मायाप्रेम मौलाउँदै गयो। पछि उनलाई चित्रबहादुरले आफूसँगै बस्न प्रस्ताव गरे। विश्वास लाग्न थालेपछि मुनाले उनको प्रस्ताव स्वीकारिन्। उनी कतारको नज्मामा रहेको फ्ल्याटमा चित्रबहादुरसँगै बस्न थालिन्। विहे नेपाल फर्किएर गर्ने कुरा थियो।

विहे नभए पनि उनीहरुबीच श्रीमान श्रीमतीको जस्तै सम्बन्ध थियो। कतारमा लिभिङ टुगेदर बस्नु गैरकानूनी हो । यस्तो गरेको पाइएमा त्यहाँ हदैसम्मको सजाय हुन्छ। मुनालाई त्यो कुराको पनि डर लाग्थ्यो। त्यो बेला चित्रबहादुरले उनलाई भन्ने गर्थे, ‘केही हुँदैन नडराउ, सबै म मिलाउँछु’।

चित्रबहादुरले यसोभन्दा मुनाको मन पनि ढुक्क हुन्थ्यो। उनलाई पनि लाग्थ्यो ‘आखिर विहे त हुने नै हो, किन धेरै डराउनु’। चित्रबहादुरले आवश्यक परे दूतावासबाट विहे गरेको प्रमाण बनाउँछु भनेर उनलाई सान्तवना दिन्थे।

चित्रबहादुरको झुटो प्रेम, यसरी भयो पर्दाफास

नज्मामा रहेको चित्रबहादुरको फ्ल्याटमा मुनासँगै बस्थिन्। त्यहीँबाटै उनी ड्यूटीमा आउने जाने गर्थिन्। चित्रबहादुरले आफैले उनलाई ड्रप गर्थे। मुनाले कमाएको पैसा एक रुपैयाँ पनि आफूले पाउँथिनन्। चित्रबहादुरले सबै पैसा बैंकमा ‘सेभिङ’ गरिदिएको छु भन्थे। मुनालाई चित्रबहादुरको पुरै विश्वास लाग्थ्यो। नलाग्नु पनि कसरी श्रीमान नै बनाएको मान्छेसँग। उनले तलबको बारेमा चाँसो नराखी खुरुखुरु काम गर्थिन्।

एकदिन मुना र चित्रबहादुरसँगै बेडमा बसिरहेका थिए। सोहीबेला मुनाले चित्रबहादुरको मोबाइलमा बच्चीहरुको फोटा देखिन्। उनको मनमा चिसो पस्यो। त्यो फोटोबारेमा सोध्न थालिन्। मुनाले दवाव दिएपछि चित्रबहादुरले साँचो कुरा भने। उनी विवाहित रहेछन्। दुई वटा जुम्लिया छोरी समेत रहेछन्। मुना छाँगाबाट खसेजस्ती भइन्। उनले बुनेका सपना सबै तुहिए। उनी रुन, कराउन थालिन्।

सबै कुरा थाह पाएपछि चित्रबहादुरप्रति मुनाको घृणा जाग्यो। उनले आफूलाई फसाएको भन्दै कानूनी उपचार खोज्ने बताइन। त्यसपछि चित्रबहादुर पनि एक्कासी परिवर्तन भए। मायाको नाटक गरेको भनेर भन्दिए। उल्टै गर्न सकेको गर भनेर धम्की दिन थाले। ‘म नारी हो एउटी नारीको पीडा कस्तो हुन्छ भन्ने राम्रोसँग बुझ्छु। विवाहित भन्ने थाहा भएको भए म नजिकनै हुने थिएन। पापीले मलाइ जालमा पारेर वर्वाद बनायो, उनले रुदैँ डिसी नेपालसँग आफ्नाे  पीडा सुनाइन्।

त्यसपछि कतारमा मुनाका दिन नरकीय रुपमा बित्न थाले। उनी चाहेर पनि नेपाल फर्किन सक्ने अवस्थामा थिइनन्। किनकी राहदानी चित्रबहादुरकै हातमा थियो। कमाएको पैसा आफ्नो हातमा एक रुपैयाँ पनि थिएन। आफ्नो पीडा कसैलाई सुनाउन पनि सक्दिनथिन्।

उनीहरुको दैनिक झगडा हुन थाल्यो। आफूलाई मरणाशन्न हुने गरी सँधै कुटपिट गर्ने गरेको उनले बताइन । ‘मैले सबै कुरा थाहा पाएपछि हाम्रो बारम्बार झगडा हुन्थ्यो। कुटाइ त मैले कति खाएँ याद पनि छैन्। पिटाइ खाँदाखाँदै शरीर नीर्जिव हुन्थ्यो। एकदिन त कुटेर पाँच दिनसम्म उठ्न सकिन, उनले दोहामा भोगेको पीडा सम्झदैँ भनिन्। धेरैपटक अन्य दिदीबहीनीको शरण लिएर बाँचेको उनले बताइन्।

कम्पनीबाट भागेको भन्दै डिपोर्ट गरिदिए

उनीहरुबीच दिनप्रतिदिन झगडा बढ्दै गयो। मुनाले कतारमा रहेका नेपाली संघसंस्था तथा दूतावासमा आफ्नो पीडा भनेर न्यायको लागि लड्ने चित्रबहादुरलाई बताइन्। कानूनी झमेलामा फस्ने र बेइज्जेत हुनेभएपछि कम्पनीबाट भागेको भन्दै सीआईडी लगाएर आफूलाई डिपोर्ट गरेको मुनाको आरोप छ।

मुना अहिले नेपालमा छिन्। उनले डिपोर्ट गरेको भन्ने अन्तिम समयमा थाहा पाएको बताइन्। चित्रबहादुरले कतारमै मुनाका दाइहरुसँगको रोहवरमा मुनाको पैसा तीन किस्तामा तिर्ने बताएका थिए। तर, अहिलेसम्म १५ हजार मात्रै दिएको उनको भनाइ छ। आफ्नो २० महिना काम गरेको ५ लाखभन्दा बढी रकम चित्रबहादुरसँग भएको मुनाको दावी छ।

‘मैले गएको ऋणसमेत तिर्न पाएको छैन। ब्याज बढेर दोब्बर भएको छ। ऋण लिइएका मान्छेसँग मुख देखाउने अवस्था छैन। सम्पर्कविहीन भएर बस्नु परेको छ। कमाएको पैसा सबै उसैसँग छ,’ उनले भनिन्। मुनाले अहिले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी छिन्। उनले आफू ठगिएको भन्दै टेकुमा उजुरी गरेको बताइन्।

मेरो कुनै सम्बन्ध छैन : चित्रबहादुर

यसबारेमा बुझ्न डिसी नेपालले कतारमा रहेका चित्रबहादुरलाई सम्पर्क गरेको थियो। उनले मुना कुवँर (नाम परिवर्तन) सँग आफ्नो कुनै सम्बन्ध नरहेको दावी गरेका छन्। आफ्नो चरित्र हत्या गर्न खोजेको उनले बताएका छन्।

‘त्यो केटीसँग मेरो कुनै सम्बन्ध छैन। मेरो बदानम गराउन अहिले मिडियामा गएको छ। उसले लगाएका आरोप सबै भ्रामक हुन्,’ उनले भने। मुनाको एक पैसा पनि नखाएको उनको दावी छ।

विवाह गर्छु भनेर मुनासँग २० महिना लिभिङ टुगेदर बस्नु भएको हो रे नि? भन्ने डिसी नेपालको प्रश्नमा उनको जवाफ थियो, ‘कतार नेपाल जस्तो देश होइन। यहाँको कानून कडा छ। यस्तो देशमा कसरी म उसँगै लिभिङ टुगेदर बसेँ तपाईँ आफै भन्नुहोस।’ उनले डिसी नेपालले थप कुरा गर्न खोज्दा फोन काटिदिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो