विदेशमा अलपत्र अवैधानिक महिला कामदारको निःशुल्क उद्धार गरिने

डिसी नेपाल
२४ कार्तिक २०७७ १९:०७

काठमाडौं। विदेशमा अलपत्र अवस्थामा रहेका अवैधानिक नेपाली महिला कामदारलाई निःशुल्क उद्धार गरिने भएको छ। वैदेशिक रोजगारीमा गई कागजपत्रविहीन भएर विभिन्न देशमा अलपत्र अवस्थामा परेका नेपाली महिलाहरुलाई आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) ले उद्धार गर्न लागेका हो।

अवैधानिक भइ स्वदेश फर्किन नसकेका महिला कामदारलाई उद्धार गर्ने तयारी थालिएको आमकास नेपालकी प्रमुख विजया राई श्रेष्ठले डिसी नेपाललाई बताइन्। उनका अनुसार पहिलो चरणमा १५ जना महिलाई उद्धार गरिनेछ। संस्थाले दूतावास तथा एनआरएनएसँग समन्वय गरेर उनीहरुको ट्राभल्ल डकुमेण्ट बनाइदिने उनको भनाइ छ।

त्यस्तै टिकट काट्ने पैसा नभएका महिलाहरुलाई हवाई टिकट समेत उपलब्ध गराइनेछ। उनीहरुको कोरोना परीक्षणको खर्चसमेत संस्थाले व्योहोर्ने छ। उद्धार गरी ल्याइएका महिलाहरुलाई काठमाडौंमा आवासको पनि व्यवस्था गरिनेछ।

उनले डिसी नेपालसँग भनिन्, ‘अहिले कोभिड महामारीको बेलामा धैरै नेपाली महिला दिदिबहिनीहरु विदेशमा समस्यामा पर्नु भएको छ। वैधानिक कामदारहरुलाई त सरकारले पनि सहयोग गरिररहेको छ। तर, अवैधानिकहरुलाई कतैबाट पनि सहयोग गरिएको छैन। अवैधानिक महिलाहरुको अवस्था झन दर्दनाक छ। त्यसैले हामीले त्यस्ता महिलाहरुको उद्धार गर्न लागेका हौँ।’ पहिलो चरणमा १५ जना भएपनि त्यसको संख्या क्रमशः बढाइने उनको भनाइ छ।

कोेरोना महामारीकै बीचमा विदेशबाट फर्किएका १५० जना महिलालाई आमाकस नेपालले विभिन्न किसिमका सहयोग गरेको पनि उनले बताइन्। विदेशमा विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्श, कानुनी सहयोग, मेडिकल सपोर्ट तथा आवासको व्यवस्था संस्थाले गर्दै आएको उनले जनाइन्।

समस्यामा परेका अवैधानिक महिलाले आमाका नेपालको ०१४३७३९६३ वा ९८४१४०४३३७ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *