डेनमार्ककी सिस्काको नेपाल प्रेम : ‘मुटुको नजिक रहेको देश विकासका लागि योगदान नै मेरो सपना हो’

डिसी नेपाल
२७ कार्तिक २०७७ १५:१०

काठमाडौं। नेपाली मुलकी डेनिस नागरिक सिस्का तुलाधर यतिबेला नेपाली गीत संगीतमा रमाइ रहेकी छिन्। डेनमार्कमा जन्मेकी सिस्काको ४ वटा भाषामा रहेको ‘हिपअप’ गीत नेपाली संगीत बजारमा छ।

‘चम्किने तारा चम्किन्छ, चम्काउनु पर्दैन’ बोलको गीतमा नेवारी, नेपाली, हिन्दी र अंग्रेजी गरी ४ भाषामा ‘¥याप’ समावेस गरिएको छ। सामान्यतः गित संगितमा लाग्ने व्यक्तिहरुलाई जीविकोपार्जन गर्न धौ धौ भइरहेको अवस्थामा सिस्काले गीत संगीतमा पाइला राखेकी छन्।

‘नेपाल जस्तो संभावना अरु देशहरुमा देखेको छैन,’ डिसी नेपालसँगको कुराकानीमा उनले भनिन्, ‘म डेन्मार्कको मान्छे। विश्वका विकसित देश छोडेर मैले नेपाल नै रोजेँ। कारण यहाँ मैले देखेको सम्भावना अरुले देख्न सकेका छैनन्।’

नेपालीहरु पैसा कमाउने उद्देश्काले विश्वका अन्य देशहरुमा जान्छन्। कतिपयलाई डेन्मार्क जानु पनि सपना नै हुने गर्दछ। तर, सिस्का तुलाधर भने नेपाल बनाउनु पर्छ भन्ने अपेक्षामा नेपालमै संर्घष गरिरहेकी छन्।

‘मलाइ नेपाली बोल्न नआए पनि यो देशप्रति अथाह प्रेम छ। मलाइ नेपालको मायाले नेपाल ल्याएर आयो। विश्वका अन्यदेशहरुमा सजिलै जानसक्ने भएपनि नेपाली नयाँ पुस्तालाई नेपाल सम्भावनाले भरिएको देश हो भनेर चिनाउन नै नेपाल आएकी हुँ।

‘म नेपाली आमाबुवाको छोरी हुँ,’ राम्रोसँग नेपाली बोल्न सक्ने सिस्काले भनिन्, ‘मलाइ नेपाली बोल्न नआए पनि यो देशप्रति अथाह प्रेम छ। मलाइ नेपालको मायाले नेपाल ल्याएर आयो। विश्वका अन्यदेशहरुमा सजिलै जानसक्ने भएपनि नेपाली नयाँ पुस्तालाई नेपाल सम्भावनाले भरिएको देश हो भनेर चिनाउन नै नेपाल आएकी हुँ।’

सन २००१ मा नेपाल प्रवेश गरेकी सिस्काले विभिन्न आइएनजिओको सहयोगमा नेपाल र डेनमार्कको शिक्षा पद्धति र सिकाईको प्रक्रियाबारे विभिन्न विद्यालयमा गएर अनुभव साटासाट गरेको सुनाइन्। भोलेन्टियर भएर काम गर्दा नेपालका विभिन्न विद्यालयहरुमा ‘वर्कसप’ पनि सिस्काले चलाएकी थिइन्।

‘नेपाली युवाहरुमा डिप्रेशन बढी हुनु र आत्महत्या गर्नुको पछाडि शिक्षा जोडिएको छ।’, सिस्काले उदाहरण दिँदे भनिन्, ‘अविभावकको इच्छा र विद्यार्थीको रुचीको मेल हुँदैन। विद्यार्थी म्युजिकमा रुचि राख्छ। उसले म्युजिकलाई व्यवसायिक बनाउन सक्छ। तर, अविभावकले विज्ञान विषय पढेको हेर्न चाहन्छ। उक्त विद्यार्थी न त अविभावकको विरुद्ध जान्छ। न उनीहरुले भनेको विषयमा दक्षता हासिल गर्न सक्छ। यही कारण उसमा डिप्रेसन बढ्दै जान्छ र अन्ततः आत्महत्याको सिकार बन्छ।’

ब्राण्डिङ एण्ड प्रमोशन स्पेसिलिष्ट सिस्काले संगीतको माध्यामबाट पनि युवा पुस्तामा रुपान्तरण सम्भव भएको बताउँछिन्। उनको चम्किने तारा चम्किन्छ, चम्काउनु पर्दैनमा पनि हरेक व्यक्तिको आन्तरिक क्षमतालाई बुझेर अलिकति सपोर्ट गर्ने हो भने तारालाई चम्काई रहन नपरे जस्तै सबै मान्छे आफ्नो क्षेत्रको विज्ञ बन्न सक्छ भन्ने सन्देश दिएको छ।

‘नेपालसँग मेरो रगतको साइनो छ,’ सिस्का भन्दै थिइन्, ‘म नेपालका लागि केही गर्नु पर्छ भनेर नै अन्य विकसित देश छोडेर नेपाल आएकी हुँ।’ नेपाली युवापुस्तामा जागरण ल्याउन र नेपाललाई विश्वमा सम्भावनाको खानी भनेर चिनाउने आफ्नो एकमात्र उद्देश्य रहेको सिस्काले बताइन्।

सिस्का आफू भित्रको विज्ञतालाई चिनेर अगाडि बढ्नुपर्नेमा जोड दिन्छिन्। ‘बुवाआमाको अपेक्षा र चाहाना अनुसार पनि मैले गरेकी छु। म आफूले चाहेको विषयमा पनि केही गर्न चाहन्छु,’ सिस्काले भनिन्, ‘लकडाउनमा नेपालमा रहँदा नेपाली युवाहरुको अवस्थालाई अध्ययन गर्ने मौका पाएकी थिएँ। उक्त अवसरमा युवाहरुमा डिप्रेसन बढ्दै गएर आत्महत्यको सिकार भएको पाएँ। अनि मलाई यही रहेर युवाहरुको बारेमा केही गर्ने सोच पलायो। र, मैले शिक्षा, संगित र युवा लक्षित सामाजिक कार्यबाट युवाहरुलाई सु–सूचित गर्ने प्रण लिएर बसेकी छु।’

‘नेपालको शिक्षाको स्तर उकास्न, नेपाली युवाहरुमा जागरण ल्याउने र सीमान्तकृत जनसंख्यालाई अवसर प्रदान गर्ने मेरो लक्ष रहेको छ,’ आफूलाई फेसन डिजाइनर, मोटिभेसनल स्पिकर र अन्तर्राष्ट्रिय ब्राण्डिङ एण्ड प्रोमोशन स्पेसलिष्ट भनेर चिनाउन रुचाउने सिस्काले भनिन्, ‘मेरो मुटुको नजिक रहेको देशको भलाइका लागि योगदान दिन सकेको दिन मेरो सपना साकार हुनेछ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *