एनआरएनए आईसीसी निर्देशनको अमेरिकामा अवज्ञा, पैसा लिएर सदस्यता बाँडिदै

डिसी नेपाल
२८ कार्तिक २०७७ १:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) ले दिएको निर्देशन एनसीसी अमेरिकाले कार्यान्वयन गर्न अस्वीकार गरेको छ । एनसीसी अमेरिकाले निणर्य अटेर गर्दै सदस्यता बाँडिरहेको पाइएको छ । उसले केन्द्रको निर्देशनलाई लत्याउँदै शुल्क लिएर नै सदस्याता वितरण गरेको हो ।

अध्यक्ष सुनील शाहले एनआरएनए अमेरिकाले शुल्क लिएर अहिले पनि नयाँ सदस्यता वितरण गरिरहेको बताएका छन् । उनले सदस्यता वितरण सम्बन्धी एनआरएनए अमेरिकाको आफ्नै नीति रहेको र तत्कालको लागि सोही नीति नै कार्यान्वयन गरिने बताए । स्मार्ट एनआरएन प्रोजेक्ट अन्तर्गतको नयाँ एमआईएस सिष्टम सञ्चालनमा नआउँदासम्म पुरानै प्रक्रियाअनुसार सदस्यता वितरणलाई निरन्तरता दिइने उनको भनाइ छ ।

‘हामी अहिले नै केन्द्रको निर्देशन पालना गर्न सक्दैनौँ । यहाँ दर्ता भएको संस्था भएकोले स्थानीय नियमअनुसार चल्नुपर्ने हुन्छ । एमआईएस सिष्टम सञ्चालन नहुँदासम्म पुरानै प्रक्रिया अपनाउँछौँ,’ अध्यक्ष शाहले भने, ‘आगामी फेब्रुअरीसम्म हाम्रै (एनआरएनए अमेरिका) को प्रक्रिया लागू गछौँ ।’ यसबारेमा आफूले केन्द्रीय अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्मालाई पनि कन्भिन्स गराइसकेको उनले बताए । एनसीसी अमेरिकासँग आईसीसीको कुनै असन्तुष्टि नरहेको उनको दावी छ ।

संघले यसअघि विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) लाई पन्जिकृत सदस्यता वितरण नगर्न निर्देशन दिएको थियो । संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले तत्कालको लागि सदस्यता वितरण रोक्ने निणर्य गर्दै सबै एनसीसीहरुलाई सो को कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

संघको विशेष अधिवेशन अनलाइन प्रणालीमार्फत आयोजना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालय सकरात्मक रहेको पत्र प्राप्त भएको र स्मार्ट एनआरएनए प्रोजेक्ट अन्तर्गतको नयाँ एमआईएस सिष्टम अहिले परीक्षणको चरणमा रहेको भन्दै अर्काे सूचना जारी नभएसम्म सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफ्ना मुलुकमा पन्जिकृत सदस्यता वितरण नगर्न महासचिव डा.हेमराज शर्माले परिपत्र गरेका थिए।

केन्द्रको निर्देशन अन्य एनसीसीले कार्यान्वयन गरेपनि अमेरिकाले भने त्यसको अटेरी गरेको हो । अमेरिकाले आफ्नो विधानले गरेको व्यवस्था र देशको कानून बमोजिम सदस्यता वितरण कार्यलाई स्थगन गर्न नमिल्ने बताएको छ । अमेरिकामै रहेका संघका केन्द्रीय सचिव गौरीराज जोशीले भने एनसीसी अमेरिका पनि केन्द्रैकै निर्देशनअनुसार चल्नुपर्ने बताउँछन् । उनले डिसी नेपालसँग भने, ‘केन्द्रको निर्देशन विश्वभर रहेका सबै एनसीसीले कार्यान्वय गर्नुपर्दछ । संस्थागत नियम सबैले मान्नुपर्दछ ।’

एनआरएनए अमेरिकाकोे अर्काे पटक पनि नेतृत्व आफ्नो पोल्टामा पार्न जालझेलका लागि सजिलो बनाउन केन्द्रको निर्देशन अवज्ञा गरेको आरोप अध्यक्ष साहमाथि लागेको छ । यसअघिको निर्वाचनमा उनले जितेको २०९३ मत अहिले पनि विवादमा छ । यसबारे आईसीसीले छानविन समिति गठन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *