आइसोलेसन पूरा गरेका व्यक्तिबाट फेरि कोरोना सर्दैन : डा.दामोदर पौडेल, ओहायो अमेरिका

डिसी नेपाल
८ मंसिर २०७७ १३:१४

वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको एक स्थानीय अस्पतालमा मेडिकल डाइरेक्टरका रुपमा कार्यरत नेपाली चिकित्सक डा.दामोदर पौडेलले एकपटक कोरोना पोजिटिभ भई दश दिन आइसोलेसनमा बसिसकेपछि त्यस्ता व्यक्तिबाट फेरि कोरोना सर्ने खतरा नभएको बताएका छन्।

‘कोरोना पोजिटिभ भई आइसोलेसनको बसाइ पूरा भएको छ भने र लक्षणहरुमा सुधार भएको छ भने दश दिनको आइसोलेसनपछि बाहिर निस्कंदा त्यस्तो व्यक्तिबाट अरुलाई कोरोना सर्दैन’, डाक्टर पौडेलले डिसी नेपालको पाक्षिक कार्यक्रम हेल्थ कन्सर्नमा कार्यक्रम संचालक किरण ढकालसंग कुरा गर्दै भने, ‘कोभिड १९ मा आइसोलेसन र क्वारिन्टिन निकै महत्वपूर्ण हुन्छन् । पोजिटिभ रिपोर्ट आइसकेपछिका १० दिन आइसोलेसन हुन् भने संक्रमितहरुसंग जम्काभेट भई जोखिममा परेर बस्ने काम क्वारिन्टिन हो जुन १४ दिनको हुन्छ किनकि कोभिड १९ को भाइरसले १४ दिनसम्ममा पनि लक्षण देखाउन सक्छ ।’

उनले एकपटक पीसीआर टेष्ट गरेर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको व्यक्तिले आइसोलेसनमा १० दिन पूरा गरी कोरोनाको लक्षणहरुमा सुधार आई स्वास्थ्य लाभ गर्दै गरेको तर फेरि पीसीआर टेष्ट गर्दा रिपोर्ट भने पोजिटिभ नै देखियो भने नआत्तिन आग्रह गरे । उनले भने,‘आइसोलेसन पूरा गरेको १० दिनपछि पुन परीक्षण गर्दा पोजिटिभ नै आए पनि त्यस्ता व्यक्तिबाट कोरोना सर्दैन ।’

कोरोना पोजिटिभ रिपोर्ट आएको छ तर लक्षण देखिएको छैन भने पनि आइसोलेसनमा बस्न उनले सुझाव दिए, ‘मलाई लक्षणै छैन भनेर वाहिर हिड्नुभएको छ भने तपाईंले अरुलाई रोग सारिरहनु भएको छ र कमजोर व्यक्तिहरुलाई मारिरहनु भएको छ यसरी लखरलखर हिड्नु पाप हो, त्यसैले त्यसो नगर्नु होला ।’

जापानमा भएको एउटा अध्ययनले मास्क लगाउंदा कोरोनाको संक्रमण एकदमै घटेको प्रमाणित गरेको र पछिल्ला अरु अध्ययनले पनि कोरोना सक्रमित मास्क लगाउंदा अरुलाई सर्ने दर ५० प्रतिशत कम हुने तथा विरामी नै नभएकाले पनि मास्क लगाएर हिड्दा सर्ने दर २० देखि ४० प्रतिशत कम हुने देखाएको बताउंदै डा. पौडेलले भल्भ भएको मास्क नलाउन आग्रह गरे । उनले भने,‘ भल्भ भएको मास्क नलगाउनु होला, कटनका कपडाका मास्क प्रभावकारी छन् ती लगाउनु होला ।’

अमेरिका लगायत विकसित देशहरुमा चिसो मौसममा हुने फ्लुबाट बच्न फ्लुको खोप अनिवार्य लगाउन उनले सल्लाह दिए । ‘कोरोना नै लागेको व्यक्ति रहेछ भने पनि उसले फ्लुको खोप लगाउनु पर्छ उनले भने, कोरोना भएकोलाई फ्लु पनि थपियो भने खतरनाक हुनसक्छ त्यसैले त्यसवाट जोगिन पनि फ्लुको खोप अनिवार्य लगाउनुपर्छ ।’

उनले कोरोनाको खोप र यसको प्रभावकारिता, अमेरिकावासी नेपाली र नेपाली भाषी भुटानी समुदायमा बढेको कोरोनाको कारण, उपचारमा भएका समस्या, अमेरिकामा कागजपत्र विहिन व्यक्तिहरुले उपचार गर्नुपर्ने अवस्था आए कसरी गर्नेजस्ता विविध विषयमा डिसी नेपालसंग कुराकानी गरेका छन् । उनीसंगको कुराकानी तलको लिंकमा क्लिक गरी सुन्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *