निजी क्षेत्रका व्यवसायीलाई चुनावी रौनक : प्रधान र ढकालमा को बलियो ?

डिसी नेपाल
१० मंसिर २०७७ ६:५९

काठमाडौं। निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी साधारण सभा नजिकिएसँगै व्यवसायीमा चुनावी रौनक छाएको छ। महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल प्यानलसहित मैदानमा उत्रिएका छन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत:  अध्यक्ष हुने र साधारणसभाबाट वरिष्ठ उपाध्यक्षको छनोट हुनेछ। वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन्। आगामी अध्यक्षका लागि बरिष्ठ उपाध्यक्षमा निर्वाचन हुन लागेको हो।  मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने साधारणसभा सहितको निर्वाचनबाट चयन हुने ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको एफएनसीसीआई सचिवालयले जनाएको छ।

निर्वाचन समितिको सूचना अनुसार दुई पदमा निर्विरोध चयन भएको छ। द्विराष्ट्रिय उद्योग बाणिज्य महासंघका लागि छुट्याएको एक सदस्यमा नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्स एण्ड इबाट सन्दीप अग्रवाल र प्रदेश नं १ लाई छुट्याएको एक सदस्यमा मोरङ व्यापार संघबाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन्। अब बाँकी ६२ पदका लागि निर्वाचन हुनेछ।

महासंघमा लामो समयदेखिको सक्रियता र परिपक्क उम्मेदवारका रुपमा प्रधानको सम्भावना छ भने लोकप्रिय तथा सडकदेखि सत्तासम्मको पहुँचका आधारमा ढकालको सम्भावना देखिन्छ। दुवै उम्मेदवारले देशव्यापी चुनावी दौडाहा सकेर यतिवेला मतदाता फकाउनमा व्यस्त छन्।

वरिष्ठ उपाध्यक्षका उमेदवारमध्ये प्रधानलाई वर्तमान अध्यक्ष भवानी राणासहित भावि अध्यक्ष गोल्छा, पूर्व अध्यक्षहरु पशुपति मुराका, कुशकुमार जोशी लगायतको साथ रहेको छ। उनको समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उमेदवारी दिएका छन्।

२०५० सालदेखि महासंघमा क्रियाशिल रहेका प्रधानलाई पाको नेतृत्वका रुपमा परिभाषित गरिएको छ। विराटनगरमा रहेर व्यवसायमा सक्रिय प्रधान औषधि व्यवसायमा सक्रिय छन्। प्रधान पूर्वअध्यक्षहरुको साथले चुनाव जित्ने विश्वासमा छन्। उनले ढकाललाई अनुभव नभएका व्यक्तिका रुपमा लिएका छन्।

यसैगरी आइएमई रेमिट्यान्समार्फत उद्योगीको परिचय बनाएका ढकाललाई पूर्वअध्यक्ष चण्डिराज ढकाल, डिवी बस्नेतलगायतका नेताहरुको साथ छ। उनको प्यानलमा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उमेदवारी दिएका छन्।

ढकालले आफूलाई सबै व्यवसायीको पिरमर्का बुझ्ने र नीतिगत तहमा लविङ गर्नसक्ने नेतृत्वमा रुपमा आफुलाई प्रचार गर्दै आएका छन्।  अहिलेसम्म दुवै प्यालनले ६०–७० प्रतिशत मत ल्याएर जित्ने दावी गरेपनि चुनावी परिणामबारे अहिलेसम्म अनुमान गर्न सकिने स्थिति छैन।

महासंघमा लामो समयदेखिको सक्रियता र परिपक्क उम्मेदवारका रुपमा प्रधानको सम्भावना छ भने लोकप्रिय तथा सडकदेखि सत्तासम्मको पहुँचका आधारमा ढकालको सम्भावना देखिन्छ। दुवै उम्मेदवारले देशव्यापी चुनावी दौडाहा सकेर यतिवेला मतदाता फकाउनमा व्यस्त छन्।

एफएनसीसीआई सचिवालयद्वारा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन्। जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन्।

यसैगरी वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघका १२ वटा सदस्य छन्। एसोसिएटतर्फ पनि ९ सय २३ र संस्थापक सदस्य तथा संघ/संस्थाहरुको तर्फबाट १२ मत रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *