२०२० को अन्त्यसँगै अमेरिकामा दशौं लाख परिवार घरबाट निकालिने अनुमान

डिसी नेपाल
१० मंसिर २०७७ १०:३०

काठमाडौं। अमेरिकामा दशौं लाख नागरिकहरुले यो वर्ष २०२० को अन्त्यसम्म घरबाट निष्काशित हुनुपर्ने अवस्था आउने अनुमान गरिएको छ । करिब ५८ लाख वयस्कहरुले आफूहरु आगामी २ महिनाभित्र घरबाट निकालिने वा फोर्सक्लोजरको स्थितिमा पुग्ने सम्भावना अत्याधिक रहेको बताएका छन् । अमेरिकी जनगणना ब्यूरोले गरेको एक सर्वेक्षणमा यस्तो नतिजा आएको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । यो सर्वेक्षण नोभेम्बर ९ मा पूरा भएको थियो ।

यो संख्या अमेरिकामा भाडामा बस्ने वा घर धितो राखी ऋणको किस्ता तिरिरहेका १ करोड ७८ लाख अमेरिकीको संख्याको एक तिहाइ हो । गएको मार्चमा कानुनको रुपमा लागू भएको द केयर्स एक्टले घर धनीहरुलाई महामारीका कारण कठिनाइ भएमा धितोको किस्ता तिर्न एक वर्षसम्म ढिलाइ गर्न अनुमति दिएको छ । त्यो अवधि आगामी मार्चसम्म सकिनेछ । यो कार्यक्रमको सुरुवातमै यो सुविधा लिएका ऋणीहरुले आगामी मार्चदेखि फोर्सक्लोजरको सामना गर्नुपर्ने हुन सक्छ ।

अर्कोतर्फ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले राष्ट्रव्यापी रुपमा अस्थायी रुपमा निष्काशन प्रक्रिया खारेज गरेको थियो । तर, यो पनि आगामी डिसेम्बर ३१ मा समाप्त हुँदैछ । यससँगै घरधनीले भाडामा बस्नेलाई घरबाट निकाल्ने बाटो खुल्नेछ । अर्कोतर्फ जागिर गुमाएका दशौं लाख नागरिकले पाउँदै आएको बेरोजगार लाभ पनि यो वर्षको अन्त्यमा सकिँदैछ । कंग्रेसले बेरोजगार लाभलाई बढाउने निर्णय गरेको छैन । यससँगै बेराजगार लाभ पाइरहेकाहरुले त्यो लाभ पाउन पनि बन्द हुनेछ ।

अर्कान्सस, फ्लोरिडा र नेवादाका समयमा भाडा तिर्न नसकेका वा समयमा ऋणको किस्ता तिर्न नसकेका झण्डै आधा परिवारले जनवरीको सुरुवातपछि आफूहरु निष्काशनमा पर्ने ठानेका छन् । सर्वेक्षणमा यी राज्यमा करिब ७ लाख ५० हजार यस्ता परिवार भेटिएका छन् जहाँ घरबाट निष्काशित हुनु सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । शहरी षेत्रमा निष्काशनको खतराले सबैभन्दा धेरै दबाब न्यूयोर्क, हस्टन र एटलान्टामा देखिएको छ ।

कोरोनाभाइरसले अमेरिकामा २ लाख ५६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । सीडीसीको प्रक्षेपणअनुसार आगामी डिसेम्बरको मध्यसम्म कोरोनाभाइरसका कारण थप ३० हजारको ज्यान जाने अनुमान छ । सीडीसीको पूर्वानुमान मोडलले आगामी महिना मृत्युदर र संक्रमण दर दुवै बढ्ने देखाएको छ । निर्वाचित राष्ट्रपति जो बाइडेनले गएको मार्चमा भाडा स्थिर राख्ने र महामारीको समयमा निष्काशन गर्न नपाइने कुरालाई समर्थन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *