प्रधानमन्त्री सहभागी नभएपछि नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

डिसी नेपाल
१७ मंसिर २०७७ १५:२०

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सत्तारुढ दल नेकपा सचिवालय बैठक २० गते बस्ने गरी स्थगित भएको छ।

बैठकमा प्रधानमन्त्री सहभागी नभएपछि अध्यक्ष प्रचण्डले शनिबार दिउँसो एक बजे बैठक बस्ने गरी स्थगित भएको सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए।

मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डले कात्तिक २८ गते सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिएर माफी नमागेसम्म आफू बैठकमा सहभागी नहुने चेतावनी दिएका थिए।

तर बुधबार विहान प्रधानमन्त्री ओली निकटका नेताहरुले ओलीलाई बैठकमा सहाभागी हुन सुझाव दिएपछि उनी बुधबार बस्ने बैठकमा सहभागी हुन सहमत भएका थिए।

ओली पनि बैठकमा सहभागी हुने भएपछि निर्धारित समय भन्दा एक घण्टा ढिला गरी बैठक बोलाइएको थियो। तर दुई बजे बसेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी नभएपछि बैठक २० गते शनिबार बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसैगरी बिहीबार बस्ने तय भएको स्थायी कमिटी बैठक पनि २१ गतेसम्मका लागि स्थगित गरिएको छ।

‘पार्टीभित्रको विद्यमान समस्याका विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष कमरेड केपी ओलीसहित उपस्थित भएर छलफल गर्नु सान्र्दभिक हुने र त्यसका लागि आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितको अपेक्षा गर्दै सचिवालय बैठक २० गते शनिबार र पूर्व निर्धारित स्थायी कमिटीको बैठक २१ गतेदेखि सुरु गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

गत मंसिर १३ गते बसेको सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको प्रतिवेदन बुझेपछि अध्ययन गर्न समय चाहिने भन्दै मंगलबार  सम्मका लागि बैठक स्थगित गरिएको थियो। मंगलबारको बैठकमा ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नहुने भनेपछि चर्का चर्की सुरु भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *