काँग्रेस वरिष्ठ नेता पौडेल रिहा

डिसी नेपाल
१७ मंसिर २०७७ १८:४७

काठमाडौं। गृह जिल्ला तनहुँमा एक पुल उद्घाटनका क्रममा निषेध आज्ञा तोडेको भन्दै बुधबार दिउँसो काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको प्रहरीले साँझ छोडेको छ। नेता पौडेललाई साँझ साढे पाँच बजेपछि प्रहरीले रिहा गरेको हो।

तनहुँको ब्यास नगरपालिकाको वडा नम्बर १ र ११ नम्बर वडा जोड्ने पक्की पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता पौडेललाई प्रहरीले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको थियो। नेकपा निकटका युवाहरुले पौडेलले पुल उद्घाटन गर्ने कार्यक्रमको विरोध गर्दै आइरहेका बेला स्थानीय प्रशासनले पुल उद्घाटन कार्यक्रम राखिएको क्षेत्रलाई निषेधित घोषणा गरेको थियो।

तर, वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न पुगेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनेक्रममा अश्रृग्याससमेत प्रहार गरेको थियो भने लाठी चार्जसमेत भएको थियो।

प्रहरीको बल प्रयोगमा परी संविधान सभाका सदस्य रामचन्द्र पोखरेललगायत काँग्रेस नेताहरु घाइते भएका छन्। वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले त्यसको कडा आलोचना गर्दै सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको थियो। काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पौडेललाई नियन्त्रणमा लिनु सरकारको सर्वसत्तावादी सोँचले काम गरेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *