विवेकशील साझा पुनर्मिलन : उज्वललाई निल्नु न ओकल्नु

डिसी नेपाल
१९ मंसिर २०७७ १५:१०

काठमाडौँ। विवेकशील नेपाली र साझा पार्टीले पुनः एकीकरण गर्ने भएका छन्। वैकल्पिक राजनीति गर्ने भन्दै आएका विवेकशील साझा यसअघि पनि एकीकरण गरेर फुटिसकेका पार्टी हुन्। एकीकरण गरेर पार्टी राम्ररी बनिनसक्दै २०७५ पुस २७ मा उनीहरुको पार्टी फुटेकाे थियाे।

विवेकशील नेपालीले कार्यकर्तामाझ मतसंग्रह गरेर बहुमतले पारित गरेपछि साझासँग पुनर्मिलन गर्ने भएको हो।

साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशील नेपालीका संयोजक मिलन पाण्डेको संयुक्त प्रयासमा दुई पार्टी फेरि एकीकरण हुन लागेको हो।

यी दुई दलबीच भएको एकीकरणलाई नेपाली राजनीतिमा केही समयएता देखिएको साना दलहरुको एकीकरणको क्रमसँग जोडेर पनि हेरिएको छ।

आफूलाई वैकल्पिक राजनीतिका शक्तिको नाम दिँदै आएका विवेकशील र साझा पटक पटक फुटको शिकार भइसकेका छन्।

दुई वर्षपछि आउने चुनावलाई केन्द्रबिन्दु बनाएर दुई पार्टीबीच एकता हुन लागेको हो। कमिटी प्रणालीलाई विवेकशीलले मान्ने, सहभागितामुलक लोकतन्त्रलाई साझाले मान्ने उनीहरुको सहमति भईकेको उनीहरुले बताएका छन्। विगतको एकीकृत पार्टीको दस्तावेज नै नयाँ एकताको पनि प्रस्थानविन्दु भएको स्वीकार गरेका छन्।

फुट र फेरि जुटको चक्कर

विवेकशील नेपाली पार्टीमा साझा पार्टीसँग पार्टी एकीकरण गर्ने कि नगर्ने भनेर सदस्यबीच मतदान भएको थियो। मतदानमा बहुमत सदस्यहरूले साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए। योसँगै विवेकशील एकीकरणमा जाने भएको छ।

गत निर्वाचनमा सीमित उम्मेद्वारसहित छुट्टाछुट्टै लडेका विवेकशील नेपाली तथा साझा पार्टीले सम्मानजनक मत ल्याएका थिए। तर संसदीय निर्वाचनमा भने खाता खोल्न सकेन। निर्वाचनमा उनीहरुले अपेक्षा गरेजस्तो परीणाम नआएपछि दुवै दलमाथि एकीकरणको दवाब परेको ठानिएको थियो।

वर्तमान राजनीतिमा परम्परागत दलहरुको वर्चस्व तोडेर विकल्पका रुपमा प्रस्तुत हुने दुवैको समान लक्ष्य भएको दुवै दलले दाबी गर्दै आएका छन्।

जब त्यसबेला विवेकशील साझाको एकीकरण भयो, दुईओटा फरक पृष्ठभूमी बोकेका पार्टीहरुमा एकअर्काबीच टकराव जस्तै थियो। यसलाई कार्यकर्ताले ‘संरचनागत भिन्नता’ भनी बुझेका थिए। पार्टी चल्दै जाँदा साझापक्षबाट त्यसबेला रिता परियारलाई महिला र अब्दुस मियाँलाई युवा संगठनको नेतृत्व कुनै सल्लाह नगरी सुम्पकोे भन्दै विवेकशीलपक्ष रुष्ट बनेका थिए।

साझाको शैलीलाई विवेकशीलपक्षले एकलौटी विचार लादेको अर्थमा लिएका थिए। विवेकशीलपक्ष अन्तर्मुखी र योजनामा चल्ने खालका भए पनि उनमा पर्याप्त स्पष्टताको अभाव देखिन्थ्यो। उनीहरूको यही अन्तरद्वन्दको मूल्य संगठनले चुकाउन पुग्यो। नेतृत्वको अन्तरद्वन्द नै त्यसबेलाको पार्टी फुटको बिजारोपण भयो।

विवेकशीलहरू अभियानबाट आएकाले अभियानमुखी पार्टी बनाउन चाहन्थे। साझा पार्टीका पक्षधरहरू पहिले संगठन बलियो बनाउनुपर्नेमा जोड दिन्थे।

विवेकशीलको मान्यतामा सहभागितामूलक लोकतन्त्रमा भए पनि त्यस बेलाको पार्टी एकतापछि साझाले एकलौटी हिसाबले पार्टी चलाउन खोजेपछि पार्टी फुटेको विवेकशीलका एक नेताले बताए।

सहभागितामूलक लोकतन्त्र भन्ने मान्यताको आफ्नै संगठनभित्र त्यसको कुनै अभ्यास नगरिएको आरोप विवेकशील पक्षले लगायो। साझा पक्षले पार्टी र संगठन बलियो बनाउनमा ध्यान नदिएको उनीहरूको आरोप थियो। साझा पक्षले केवल माइतीघर घुमेर अभियानमुखी बनेर नहुने भन्दै बैकल्पिक राजनीतिक शक्ति बनाउन संगठन नबनाए केही समयपछि स्वतः कमजोर बन्दै जाने अडान लियो। यसरी विवाद बढ्दै गएपछि उनीहरू दुवै एक अर्को पक्षलाई स्विकार्न नसक्ने अवस्थामा पुगेका थिए। अन्ततः पार्टी फुटाएर दुवै पार्टी एकअर्कामा दोषारोपणमा उत्रिएका थिए।

एकीकरणमा विवेकशीलका एउटा गुटको असमर्थन

विवेकशीलका २ पदाधिकारीसहित १३ नेता साझा पार्टीसँगको एकीकरणमा सहभागी नहुने भएका छन्। केन्द्रीय उपाध्यक्ष अजिता राई र कार्यालय व्यवस्थापन सचिव संगीता बाटाजु साथै ११ संघीय समिति सदस्यले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका हुन्।

उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै आफूहरू रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा सहभागी नहने बताएका हुन्।

एकीकरणमा नजाने घोषणा गरेका संघीय समिति सदस्यहरूमा कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन्। उनीहरूले एकीकरणमा जानेहरूलाई शुभकामना दिँदै आफूहरू त्यसमा सहभागी नहुने विज्ञप्तिमा उल्लेख गरेका छन्।

अहिले पार्टी एकीकरण गर्ने समय नभएकाले आफूहरुले एकीकरणमा सहभागी नहुने निर्णय गरेको विवेकशीलकी उपाध्यक्ष अजिता राईले डिसी नेपाललाई बताइन्। ‘अब के गर्ने भन्ने बिषयमा साथीहरुसँग छलफल भइरहेको छ,’ उनले भनिन्।

विवेकशीलको बीउ रोप्ने उज्ज्वल थापा यसमा मौन रहेका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले यसबेला बोल्न नचाहेको बताए। ‘दुई तिहाई बहुमतले अनुमोदन गरेको निर्णय हो यसमा म अहिले केही भन्ने अवस्थामा छैन,’ उनले डिसी नेपालसँग भने। विवेकशील स्रोतका अनुसार उनीे मौन रहे पनि झुकाव भने एकीकरण नगर्ने भन्नेतर्फ नै रहेको छ। मिलनपक्ष एकीकरणमा गएपनि बिपक्षीले विवेकशील नै पुनःगठन हुने स्रोतको दाबी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *