चलचित्रकर्मी र पत्रकार पुरस्कृत
काठमाडौं। सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको संस्था परिवर्तन नेपालले आयोजना गरेको एक विशेष कार्यक्रममा हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारद्वारा विभिन्न कलाकार तथा पत्रकारहरू सम्मानित भएका छन्।
काठमाडौंमा वुधबार आयोजना गरिएको एक कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रकर्मींहरू कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई प्रदान गरियो भने २०७७ सालको सोही पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ।
स्मरण रहोस्, निजी क्षेत्रबाट स्थापित पहिलो चलचित्र पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कार परिचित रहेको छ। त्यसैगरी उक्त कार्यक्रममा संचारकर्मी राजेश खनाललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७६ प्रदान गरिएको थियो भने २०७७ सालका लागि अभिनेत्री सपना श्रेष्ठलाई सोही पुरस्कारबाट सम्मानित गरिएको थियो।
उक्त पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ। यस अघि पनि हरितारा पुरस्कारबाट विभिन्न चलचित्रकर्मीहरूलाई सम्मानित गरिइसकिएको छ भने दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार कलाकारहरू सुभाष गजुरेल, उत्तम केसी तथा पत्रकारहरू विजयरत्न तुलाधरलाई प्रदान गरिसकिएको छ।
सोही अवसरमा २०७७ सालको परिवर्तन विशेष सम्मान निर्देशक माधवराज खरेल, विश्वदीप घिमिरे तथा संचारकर्मी मोहन पन्तलाई प्रदान गरियो।
कार्यक्रममा हरितारा पुरस्कार गुठीका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले पुरस्कार तथा सम्मान स्थापनाका बारेमा आफ्नो धारणा राखेका थिए।
हरितारा पुरस्कार गुठीकी मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरांैला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकर्मीहरू लय संग्रौला, रवीन्द्र खडका, मोहन निरौला, शान्तिप्रिय तथा सम्मानित व्यक्तित्व मदनदास श्रेष्ठ र कृष्ण मल्लले आफ्नो धारणा राखेका थिए।







डिसी नेपाल








Facebook Comment