देउवा चुनाव केन्द्रित बनेपछि काउण्टर रणनीति बनाउँदै पौडेल पक्ष

खेमराज थापा
२६ पुष २०७७ १९:५५

काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। बहुमतको सरकारले प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्दै सर्वोच्चमा १२ वटा रिट दायर भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले ती रिटमाथि सुनुवाई गर्दै कारण देखाऊ आदेश जारी गरिसकेको छ भने यही पुस २९ मा पेशी छ।

र देशमा एक किसिमको अन्यौलको वातावरण बनेको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको काँग्रेसमा भने एक पक्ष चुनाव जानुपर्ने र अर्को पक्ष आन्दोलनबाटै प्रतिनिधिसभा विघटनको निर्णयलाई उल्ट्याउनुपर्ने विचारमा छ।

सभापति शेरबहादुर देउवा चुनाव केन्द्रित भएका छन्। सरकारको कदम असंवैधानिक भनेको काँग्रेसले सरकारको सो कदमविरुद्ध सडक आन्दोलन गरिरहे पनि सभापति देउवाले चुनावमा जाँदा के बिग्रन्छ भनिरहेका छन्। र उनले कतै पनि प्रतिनिधिसभा पुनःस्थापनाको कुरा गरेका छैनन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने सरकारले असंवैधानिक कदम चालेर घोषणा गरेको चुनावमा जानै नहुने र प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने अडानमा छन्।

सभापति देउवाको निवास बुढा निलकण्ठमा विभिन्न जिल्लाबाट आउने नेताहरुको दिनहुँ घुँइचो लाग्ने गरेको छ। र देउवाले उनीहरुलाई चुनावको तयारी गर्न निर्देशन दिने गरेका छन्। यसरी बुढानिलकण्ठ चुनावमा केन्द्रित भएपछि पौडेल समूह त्यसको काउण्टर रणनीति बनाउन सक्रिय भएको छ।

आइतबार काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा पौडेल समूहका नेताहरुको छलफल भएको छ। छलफलमा सहभागी एक नेताका अनुसार छलफल प्रतिनिधिसभा विघटनपछिको अवस्थामा पार्टीको अडान के हुने ? भन्ने विषयमा र महाधिवेशनबारे केन्द्रित थियो।

ती नेताले भने, ‘छलफलमा पौडेल समूहका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो। सभापति देउवा चुनावमा केन्द्रित भएपछि अब कसरी अगाडि बढ्ने विषयमा छलफल भयो। माघ ६ गतेको केन्द्रीय कार्यसमितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भयो।’

उनका अनुसार नेता पौडेलले संविधान नै खतरामा पर्ने जोखिम रहेको भन्दै यस्तो बेला काँग्रेस नेतृत्वले स्पष्ट अडान लिनुपर्ने बताएका थिए। शनिबारै बुढानिलकण्ठमा आयोजित पुस्तक विमोचन कार्यक्रममा पनि वरिष्ठ नेता पौडेलले संविधान रहे चुनावमा जाउँला भन्दै संविधान जोगाउनुपर्ने काँग्रेसको मुख्य दायित्व रहेको बताएका थिए। उनले काँग्रेस पञ्च्यातकालमा भएका चुनाव बहिस्कार गरेको स्मरण पनि गराएका थिए।

दिउँसो डा. कोइरालाको निवासमा छलफल गरेका पौडेल समूहका नेताहरुले आइतबार अबेर भने अज्ञात स्थानमा छलफल गरेका छन्। स्रोतले भन्यो, ‘महामन्त्री कोइरालालगायत पौडेल पक्षका नेताहरुको बैठक अहिले पनि बसिरहेको छ।

प्रतिनिधिसभा विघटन र महाधिवेशनको एजेण्डामा छलफल चलिरहेको छ।’ फागृन ७ देखि १० सम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय भए पनि अब सो मितिमा महाधिवेशन नहुने लगभग पक्का भएको छ। तर, काँग्रेसले नयाँ मिति भने तोकिसकेको छैन। पौडेल पक्ष माघ मशान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकिए स्थानीय तहमा अधिवेशन गर्नुपर्ने पक्षमा छ भने सभापति देउवा आगामी जेठमा महाधिवेशनको मिति तोक्नुपर्ने पक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *