बीपीले जस्तै मनिषाले पनि दोहोर्याइन्- ‘राजा र मेरो घाँटी जोडिएको छ’
काठमाडौं। अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्व जोगाउनका लागि संवैधानिक राजसंस्था अपरिहार्य रहेको बताएकी छन्।
शनिबार ‘शाही युवा शक्ति, नेपाल’ द्वारा आयोजित ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको महत्त्व आफ्ना हजुरबुबा तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको विचारबाट बुझेको स्पष्ट पारिन्।
“सुरुवाती दिनमा बीपीका विचारहरू समाजवाद र कम्युनिज्मतिर झुकेका थिए,” उनले भनिन्, “तर मुलुकको विशिष्ट भूगोल, परिस्थिति र भविष्यलाई ध्यानमा राख्दै उहाँ नेपालका लागि राजसंस्था अत्यन्तै जरुरी रहेको निष्कर्षमा पुग्नुभएको थियो। मैले पनि यो अवधारणा बीपी बाबाटै सिकेकी हुँ।”
बीपीको ‘राष्ट्रिय मेलमिलाप’ र वर्तमान सन्दर्भ
कोइरालाका अनुसार बीपीले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई विरोधीका रूपमा होइन, बल्कि लोकतन्त्रकै परिपूरक र प्रतीकका रूपमा व्याख्या गरेको थियो। बीपीको भनाइ उद्धृत गर्दै उनले थपिन्, “उहाँले राजा र मेरो घाँटी जोडिएको छ भन्नुभएको थियो। त्यो कुरा हिजो जति महत्त्वपूर्ण थियो, आजको परिस्थितिमा झन् बढी सान्दर्भिक बनेको छ।”
गणतन्त्र र वैदेशिक मोडलमाथि टिप्पणी
बहुदलीय व्यवस्था र गणतन्त्र आए पनि नेपाली जनताले देखेको समृद्ध र बलियो राष्ट्रको सपना पूरा हुन नसकेको टिप्पणी मनिषाले गरिन्। मौलिक राष्ट्रिय तत्त्वहरूलाई पन्छाएर विदेशी अवधारणा पछाडि कुद्नाले देशलाई फाइदा नपुगेको उनको तर्क थियो।
नेपाल एकीकरण गर्ने वंश र संस्थालाई कमजोर बनाउँदा समग्र राष्ट्रियता नै सङ्कटमा पर्ने चेतावनी दिँदै उनले भनिन्, “जसका पुर्खाले यो देश बनाए, त्यस्तै ऐतिहासिक संस्थालाई किनारा लगाउँदा राष्ट्रियता कमजोर हुन्छ। हाम्रो जस्तो संवेदनशील भूगोल भएको मुलुकका लागि यो डरलाग्दो स्थिति हो। देशलाई सधैँ स्वतन्त्र, सार्वभौम र सुरक्षित राख्ने हो भने राजसंस्था आवश्यक छ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment