सर्वहारा नेताको रमिता : सर्वहाराको बाटो छेकेर बीच सडकमा विलासी सोफा

दामोदर नेपाल
१० माघ २०७७ ११:५६

प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध शुक्रबार काठमाडौंमा प्रधानमन्त्रीकै पार्टीका नेताहरुले शक्ति प्रदर्शन गरे । शक्ति प्रदर्शनका क्रममा काठमाडौंको सबैभन्दा व्यस्त पुरानो बसपार्क–भद्रकाली सडकमा बाटो छेकेर मञ्च बनाइयो । सबैभन्दा व्यस्त सडक अवरुद्ध पारेर प्रधानमन्त्रीको निर्णय ‘असंवैधानिक’ भएको भन्दै भाषण गरियो । यस क्रममा उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो । सवारी नपाएर कैयौं सर्वसाधारण पैदल नै गन्तव्यतर्फ जानुपर्यो ।

शक्ति प्रदर्शनका लागि उपत्यका बाहिरबाट हजारौंको संख्यामा सर्वसाधारण बोलाइएका थिए । आएका सर्वसाधारणले डिसीनेपालसँगको कुराकानीमा भनेका थिए ‘आउन जान बस, खाने र बास बस्ने व्यवस्था तथा १ हजार रुपैयाँ दिने भनेपछि आएका हौं । सभास्थलबाट लाखापाखा लागेर सडक किनार बसेर बदाम खाइरहेका उनीहरुले स्पष्टै भनेका थिए ‘हाम्रो आन्दोलनसँग कुनै लगाव छैन ।’

शक्ति प्रदर्शनका क्रममा सडक छेकेर बनाइएको मञ्चमा अर्को अद्भूत दृश्य देखियो । आफूलाई ‘सर्वहारा’ भन्ने नेताहरुका लागि विलासी सोफा ल्याइयो । र, तिनै सोफामा ‘सर्वहारा’ नेताहरु गजधम्म विराजमान भए । उनीहरुको यो रमिताले साँच्चिकै सर्वहाराहरुको भने दैनिकी अस्तव्यस्त भएको थियो । दिनभरी काम गरेर साँझको छाक टार्ने मजदूरहरुको काम खोसिएको थियो । र, तिनै सर्वहारा जनताको सपना बालेर सर्वहारा नेताहरु त्यसको रापमा सत्ताको रोटी सेकिरहेका थिए ।

दिनभरी काम गरेर साँझको छाक टार्ने मजदूरहरुको काम खोसिएको थियो । र, तिनै सर्वहारा जनताको सपना बालेर सर्वहारा नेताहरु त्यसको रापमा सत्ताको रोटी सेकिरहेका थिए ।

बुढापाकाहरुले भन्थे – देशअनुसारको भेष गर्नुपर्छ । कुनै विलासी ठाउँमा जाँदा त्यसरी विलासी सोफामा बस्न सुहाउला तर के सडकमा बस्दा पनि यसरी विलासी सोफामा उनीहरुले के देखाउन खोजेका हुन् । यसअघि पटक–पटक भएका जनआन्दोलनमा शीर्ष नेताहरु सडकमै बसेका दृश्यहरु हामीले देख्दै आएका हौं । उमेरले नेटो कटिसक्दा पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह लगायतका नेताहरु सडकमै बसेको हामीले देखेकै हौं । २०६२–६३ को जनआन्दोलनका बेला त सडकमा बसेका गिरिजाप्रसाद कोइरालालाई प्रहरीले घिच्याउँदै भ्यानका कोचेको दृश्य अझै धेरैले सम्झिन्छन् ।

भाङग्राको टोपीलाई गुहेंलाको फूल शैलीमा बीच सडकमा गजधम्म बसेका नेताहरु तिनै हुन् जो हिजो आफूलाई सर्वहारा भन्थे । जनताको लागि लडेको भन्दै आम सर्वसाधारणको घरमा गएर गुन्द्रुक र ढिँडो खाएर गुन्द्रीमा सुत्ने नेता अहिले बीच सडकमा विलासी सोफामा बस्दै गर्दा उनीहरुलाई हिजो आफ्नो छाक काटेर खुवाएका जनताले के सोचे होलान् । जनयुद्ध रोकिएको डेढ दशक बितिसक्दा जनताको स्तर उस्तै छ तर नेताको यो रमिता देख्दा युद्धमा आफन्त गुमाएकाहरुले के भने होलान् ?

सामान्यतया संसदीय व्यवस्थामा मन्त्रिपरिषदका अध्यक्षले संसद भंग गर्ने अधिकार हुन्छ । नेपालमै पनि २०४७ को संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था गरिएको थियो । यद्यपि अहिलेको संविधानमा स्पष्ट रुपमा त्यस्तो व्यवस्था गरिएको छैन । तर, संसद भंग गर्नैपर्ने परिस्थिति आए के गर्ने भन्ने व्यवस्था पनि संविधानमा छैन । संविधानमा यस्तो व्यवस्था किन गरिएन भन्ने संविधान निर्माणको काममा खटिएका नेताहरुलाई नै थाहा होला । तर, प्रधानमन्त्रीले संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपतिले स्वीकृत गरिसकेको अवस्थामा त्यो संवैधानिक हो वा होइन भनेर छिनोफनो गर्ने अदालतले हो ।

उनीहरुले सडकमा उभिएर संविधान बचाउँछौं भनेर चिच्याउनु हुटिट्याउँले आकाश धान्छु भनेजस्तै हो ।

यो विषयले अदालतमा प्रवेश पाइसकेको छ र विगत १ हप्तादेखि निरन्तर सुनुवाइ भइरहेको छ । अदालतमा सुनुवाइ भइरहेको विषय अदालतबाटै छिनोफानो हुने हो । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी कसैले पनि कुनै क्रियाकलाप गर्न पाइँदैन । विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम गर्नु पनि गैरकानुनी हो । तर, शुक्रबार नेताहरुले सर्वोच्च अदालत परिसरसम्मै सुनिने गरी चर्का भाषण गरे । भाषणमा उनीहरुले प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको भने । अदालतसम्मै सुनिने गरी अदालतको क्षेत्राधिकार मिच्ने र निर्णय प्रभावित पार्ने प्रयास गर्नुको नियत के हुन सक्छ ।

खासमा यो विवाद कहाँबाट सुरु भयो भन्नेतिर फर्केर हेर्ने हो भने हिजो भएको होहल्ला जनताको लागि गरिएको फिटिक्कै होइन । न त उनीहरु संविधान बचाउन भनेरै लागिपरेका हुन् । उनीहरुले सडकमा उभिएर संविधान बचाउँछौं भनेर चिच्याउनु हुटिट्याउँले आकाश धान्छु भनेजस्तै हो । यो तमासा त आफ्नै पार्टीभित्र विद्रोहको आगो सल्काएर प्रधानमन्त्रीलाई पदच्युत गरी आफू प्रधानमन्त्री बन्न चाहेका प्रचण्डको हातबाट सत्ता फुस्किएपछि उनले गरेको रोइलो मात्र हो ।

जनतालाई कानुन मान्नुपर्छ भनेर अर्ती उपदेश दिने नेताहरुले आफैं कानुन उल्लंघन गरिरहेका छन् । जनताको लागि संविधान र कानुन बनाएका नेताहरु स्वयंले अदालतको निर्णय प्रभावित पार्ने प्रयास गरिरहेका छन् । यसको पछाडि कारण के छ ? नेताहरुको रोइलोको पछाडि देखिने एउटै कारण हो उनीहरुलाई अदालतमाथि नै विश्वास छैन । अदालतमाथि विश्वास हुँदो हो त अदालतले हेरिरहेको मुद्दामा यसरी रोइकराइ गर्नुपर्ने नै थिएन । अदालतले संविधानको व्याख्या गरेर सही निर्णय दिन्थ्यो, नेताहरुले प्रतिक्षा मात्रै गरे पुग्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *