सत्तारोहण गर्ने काँग्रेसको सपना, तर बनेको छैन वातावरण

खेमराज थापा
२९ फागुन २०७७ १७:३७

काठमाडौं। २०७४ को आम निर्वाचनमा नराम्रोसँग पराजय भोगर सत्ताबाट कमजोर प्रतिपक्षीको भूमिकामा धकेलिएको काँग्रेस त्यसको तीन वर्षपछि देशको नेतृत्व गर्ने सपना देख्न थालेको छ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा नामको पार्टी स्थापना भएपछि सो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक भाषणमा काँग्रेसले ५० वर्षसम्म सत्तामा जान नपाउने घोषणा गरेका थिए। तर, अहिले परिस्थिति बदलिएको छ, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तयार रहन काँग्रेस सभापति शेरबहादुर देउवालाई उनै प्रचण्डले प्रस्ताव गरेका छन्। त्यो पनि देउवाकै निवासमा पुगेर।

तत्कालिन सत्तारुढ नेकपाको आन्तरिक विवाद, ओली सरकारले गरेको संसद् विघटन, सर्वोच्च अदालतले गरेको विघटन बदर र सर्वोच्चले नै नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताएको परिस्थितिले संसदमा दोस्रो दलको हैसियत भए पनि संख्यामा निकै कमजोर रहेको काँग्रेसका लागि परिस्थिति अनुकुल बन्दै गएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ जना सांसद सक्रिय अवस्थामा छन्। काँग्रेस सांसद मोहम्मद अफताव आलाम र विजयकुमार गच्छदार, जसपा सांसद रेशमलाल चौधरी निलम्बनको अवस्थामा छन्। तत्कालिन एमाले सांसद सानु सिवाको निधन हुँदा सो पद रिक्त छ।

प्रतिनिधिसभामा अहिले एमालेको १२०, काँग्रेसको ६१, माओवादीको ५६ र जसपाको ३३ सिट छ। यस्तै राप्रपा र मजदुर किसानको एक एक सिट छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अहिले गठबन्धन सरकारमा परिणत भएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि माओवादी केन्द्रले सरकारको नेतृत्वका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिसकेको छ।

वैकल्पिक गठबन्धनले आकार लिने अवस्था आए माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाउ काँग्रेसलाई दिएको छ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले माओवादीबाट काँग्रेसलाई सरकारको नेतृत्वका लागि प्रस्ताव आएको दावी गरे।

प्रतिनिधिसभाको गणितअनुसार ओली सरकारलाई विस्थापित गर्न सबै विपक्षी एक ठाउँमा आउनुपर्ने अवस्था छ। र काँग्रेसलाई सबैभन्दा धेरै आशंका पनि यही गणितमा छ। जसपाले प्रधानमन्त्री ओली र काँग्रेस दुबैसँग बार्गेनिङ गरिरहेकाले उसले के गर्छ भन्ने यकिन हुन सकेको छैन। सरकारको नेतृत्व गर्ने सपना देखिरहेको काँग्रेसले त्यसैले आफू अगाडि बढेर वैकल्पिक गठबन्धनका लागि अग्रसरता नदेखाएको हो।

डा. महत भन्छन्, ‘संसदमा काँग्रेसको संख्या निकै कमजोर छ। त्यसैले म सरकारको नेतृत्व गर्छु भनेर हौसिने कुरा भएन। तर, परिस्थितिले काँग्रेसको नेतृत्व मागे पछाडि हट्ने कुरा पनि भएन।’

प्रतिनिधिसभा पुनःस्थापनापछि आफू प्रधानमन्त्रीको दौड नरहेको सभापति देउवाले सार्वजनिक गरेका थिए। काँग्रेस नेताहरु पनि सत्ता मुख्य कुरा नभएको बताउने गरेका थिए। तर, शुक्रबारको राजनीतिक घटनाक्रमपछि भने काँग्रेसले अब वैकल्पिक गठबन्धनका लागि अग्रसरता देखाउने संकेत दिएको छ।

शुक्रबार जसपासँगको वार्ता अघि बसेको काँग्रेस पदाधिकारीको बैठकमा देउवा इतर समूहका नेताहरुले पनि अब काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने र त्यसका लागि सभापतिलाई सहयोग गर्ने बचन दिएका छन्। त्यसलगत्तै जसपासँग भएको छलफलपछि प्रवक्ता विश्वप्रकाश शर्माले जसपाले सबै विपक्षीको समान धारणा हुनुपर्ने प्रस्ताव गरेको बताएका थिए।

शुक्रबार नै एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा. शसांक कोइरालाले काँग्रेसको ध्येय नै ओली सरकारलाई हटाउनु रहेको बताएका थिए।

शनिबार शिक्षक संघको एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारलाई विस्थापित गर्न देउवाले अग्रसरता लिनुपर्ने र त्यसमा आफ्नो खुला हृदयले समर्थन रहने बताएका छन्।

जसपा र माओवादी केन्द्रको प्रस्तावलेमात्र काँग्रेस हौसिएको होइन। शुक्रबार सत्तारुढ दल एमालेमा भएका घटनाक्रमले पनि वातावरण काँग्रेसको पक्षमा बन्दै गएको काँग्रेसको विश्लेषण छ। डा. महतले भने, ‘एमाले पनि किचलो शुरु भएको छ, त्यसले के रुप लिन्छ त्यो पनि हेर्नुपर्ने हुन्छ।’ उनले परिआए काँग्रेस नेतृत्वका लागि तयार रहे पनि अझै वातावरण परिपक्व भने भइनसकेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *