दोषी को, प्रणाली कि पात्र ?

उपेन्द्र शाही
३० चैत २०७७ १४:०२

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत शनिबार ‘राजनीतिसँगै राजकाज’ पुस्तक सार्वजनिक गरे। कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गर्दै राजनीति र राजकाज सम्बन्धमा विवेचना गरे।

करिव डेढ घण्टा चलेको कार्यक्रममा राजनीतिक नेतृत्व र संरचनाको विषयमा मिश्र, वाग्ले र भट्टराईबीच गहिरो तार्किक वहश भएको थियो। प्रस्तुत छ, उक्त कार्यक्रममा उनीहरुको वहशको सार :

डा. भट्टराई

सबैले समाजलाई बुझ्ने र हेर्ने दृष्टिकोण एउटै हुँदैन। हाम्रा आँखाका चस्मा अनुसार हामीले देश दुनियालाई हेर्ने र बुझ्ने गर्दछाैं। त्यसैले मेरो विचारमा राजनीति र राजकाज भनेको जंगल र रुख जस्ता मात्रै हुन्। राजनीति जंगल हो भने राजकाज रुख हो। तिनीहरू एक आपसमा आफैं अन्तर सम्बन्धित छन्। त्यसैले एकबाट अलग राखेर अर्कोलाई हेर्न मिल्दैन।

नेपालको सन्दर्भमा राजनीति व्यापक कुरामा त सबैको ध्यान पुग्यो। तर, ठोस र मुख्य पाटो रुख अर्थात राज्य सञ्चालन गर्ने पाटोमा सबैको ध्यान पुगेन भन्ने कुरा यो पुस्तकले बोल्छ। म आफू पनि ४० ४५ वर्षदेखि राजनीतिक व्यवस्था परिवर्तका निम्ति लागि रहेको छु। र, छोटो समय राज्य सञ्चालन संयन्त्रसम्म पुगेँ। मलाई त्यसमा सफल नभएजस्तो लाग्छ।

राज्य व्यवस्था स्टेट भनेको स्ट्याटिक हुँदैन। हामीले कुनै पनि कुरालाई गतिशीलता, परिवर्तनशीलता र एतिहासिक सापेक्षतामा नै हेर्नुपर्छ। त्यसैले राज्य सञ्चालन गर्ने प्रक्रिया पनि समयसँगसँगै समाजको परिर्वतन, मान्छेको चेतनाको परिर्वतनमा धेरै हदसम्म निर्भर हुन्छ। त्यसैअनुरुप परिवर्तन र रुपान्तरित हुँदै जान्छ।

त्यसैले मेरो बुझाइ भनेको नेपालमा हामीले राजनीतिक परिर्वतनको लागि २० औं शताव्दीको अन्तमा र २१ औं शताव्दीको सुरुवातमा लड्यौं। यस्तो काम अमेरिकाले २ सय वर्ष पहिल्यै गरिसकेको थियो, र एशियाका थुप्रै देशहरुले २० औं शताव्दीको अन्त्यमा गरिसकेका थिए। त्यसमा हामी पछाडि पर्यौं र त्यसलाई पूर्णतामा पनि पुर्याउन सकेनौं। हामीले हाम्रो राजनीतिक परिवर्तन अझै ठिक ढंगले पूरा भएन भन्ने मेरो बुझाइ छ। त्यसैले राज्य चलाउने संयन्त्रको पनि ठीक ढंगले रुपान्तरण भएन। र, अरु देशको भन्दा परिवर्तन गर्न लाग्ने समय पनि धेरै लाग्यो।

त्यसैले समकालीन राजनीति ठीक ढंगले सञ्चालन भइराखेको छैन भन्ने मेरो बुझाइ र विश्लेषण हो। फेरि पनि हामीले यसलाई सच्याउँदै जान सकिन्छ। अहिलेको राजनीतिको संरचना नै पूरा हुन सकेको छैन। गाडी बिग्रेको छ भने जति कौशल चालक भए पनि अगाडि बढ्न सक्दैन। रवीन्द्रजीले जे जति कुरा उठाउनु भएको छ। त्यसलाई ध्यान दिएर सच्याउँदै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ। तर, हुँदै भएन र केही नभएको भने होइन।

लोकतन्त्र भनेको करिव ५ सयवर्षको विकासक्रमलाई हेर्दै जानु भयो भने पहिलो चरणको लोकतन्त्रले निजी स्वतन्त्रता र समानता बराबरीका कुराहरु गर्यो। दोस्रो चरणमा वर्गीय स्वतन्त्रता र समानताका कुराहरु उठ्यो। र अहिले तस्रो चरणको लोकतन्त्र भनेको व्यक्ति र वर्गमात्रै होइन जातजाति, लिङ्ग, क्षेत्र, समुदाय पनि रहन्छ।

त्यसको पनि हल हुने गरी लोकतन्त्रमा स्वतन्त्रता मात्रै होइन, समानता मात्रै होइन त्यहाँ समावेशीता र सहभागिताको सुनिश्चितता हुनुपर्छ भन्ने उदाहरण पनि छन्। त्यसको सँगसँगै आर्थिक दृष्टिकोणबाट हेर्दा बजारलाई खुला छोड्ने कि, राज्यले नियन्त्रण गर्ने कुराहरुदेखि लिएर बजार, राज्य र समुदायको सन्तुलीत भूमिका हुनुपर्छ भन्ने अवधारणा पनि आइराखेका छन्।

त्यसो भएको हुनाले कल्याणकारी लोकतन्त्रमा मुलतः बजारमुखी अर्थतन्त्र, अर्थात समाजमा अलिकति धनी मानी, टाठा बाठा हरुको बोलवाला रहेको र राज्य उनीहरुकै नियन्त्रणमा रहन्छ। आर्थिक वर्चस्व पनि उनीहरुकै रहन्छ। तर, जनता चाहीँ उनीहरुकै दयामाया वा परोपकारी भावनाले, केही सहुलियतको भर पर्ने हुन्छ। सुरुवाती समयमा यो अवधारणा यसरी सुरु भए पनि हाल आएर त्यो छैन। अहिलेको अवधारणा भनेको त्यो भन्दा माथि उठेको सबैले आफ्नो सबै कुरा आफ्नो अधिकारले पाउनु पर्छ कसैको दयामायाले होइन्।

मानिसका सबै समस्याको जिम्मा लिनु राज्यको दायित्व हो। र कुनै पनि जाति, क्षेत्र र लिङ्गको आधारमा विभेद गर्न हुँदैन्। भन्ने अवधारणा अगाडि आइसकेका छन्। अहिले सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समावेशी र सहभागितामुलक लोकतन्त्र अहिलेको आवश्यक्ता हो। त्यही ठाउँमा हामी पुगेका छौँ।

रवीन्द्र मिश्र

राजनीति र राजकाज एक अर्कामा अन्तरसम्बन्धीत शव्दहरु हुन्। तर, राजकाज  राज्यको रुपान्तरण नै हो। त्यसैले राज्यको रुपान्तरण गर्न नसक्ने नेतालाई राजनेता भन्दैन् र भनिँदैन। त्यसैले राजकाज राजनीतिको मेरुदण्डको रुपमा रहेको हुन्छ। त्यो मेरुदण्डमा चोट लागेमा शरीर त चिलिम हुन्छ नै, साथै त्यसले चाहेको परिणाम निकाल्न पनि सक्दैन। राजनेता हुनको लागि विभिन्न गुणहरु हुन आवश्यक छ। त्यसमध्येका पाँचवटा अति महत्वपूर्ण गुणहरु मैले व्याख्या गरेको छु। रुपान्तरणकारी राजनेता हुनको लागि इमान्दारिता, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि हुन आवश्यक छ। यी कुराहरुले राजनेतालाई पूर्णरुपमा परिभाषित नगरे पनि राजनेतामा यी गुण हुनुपर्छ।

हाम्रो देशको परिप्रेक्ष्यमा करिव ७ दशक २००७ सालदेखि हेर्नु भयो भनेपनि यिनै दुई चार कुराहरु परिपूरक भएर गयो। नभएर गयो। २०४७ साल पछिको स्थिति हेर्नु भयो भने पनि त्यसमा ठूलो विराधाभाषहरु देखिएको स्थिति हो। त्यसबेला जब राजनीति लोकतन्त्रमा प्रवेश गर्यो। त्यसबेला त्यसको जग बलियो गरी हाल्न सकिएन। अर्थात लोकतन्त्रका मूल्य मान्यतालाई बलियो गरी स्थापित गर्न नसकिएकै हो।

सायद त्यसबेलाका नेताहरु आत्मकेन्द्रित नभएको भए, स्वार्थ केन्द्रित नभएको भए, नातावाद र कृपावादले प्रश्रय नपाएको भए, सम्भवत माओवादीे द्वन्द्व पनि जन्मिदैँन थियो कि। तर, काठमाडौं यस्तो केन्द्र बन्यो जहाँ राजनीतिमा नहुनु पर्ने र राजकाजमा नहुनु पर्ने सबै किसिमका क्रियाकलाप भयो। त्यसको केही वर्ष पछि गाउँमा द्वन्द्व मौलाउँदै गयो।राजनीति जानेका भनिएकाहरुले राजनीति बिगारी दिएको हुनाले हामी जस्ता राजनीति नजानेका भनिएकाहरु राजनीतिमा आउनु पर्ने बाध्यात्मक अवस्था आयो।

कल्याणकारी राज्य र कल्याणकारी लोकतन्त्र भनेको साम्यवादी स्वेत कल्पना होइन, समाजलाई संकुचित पार्ने शास्त्रीय समाजवाद पनि होइन, यो त समाजवाद र पुँजीवाद दुवैका राम्रा विशेषताहरुलाई अगिंकार गरेर अगाडि बढ्ने मध्ये मार्ग हो।

त्यसै कारणले गर्दा राजनीति समग्रता हो भने राजकाज त्यसको मेरुदण्ड हो। राजकाजले राज्यको रुपान्तरण गर्छ। तर, राज्यको रुपान्तरणकारी राजनीति भएन भने त्यसले देशलाई भ्रष्ट, कुशासनयूक्त र कमजोर बनाउँछ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगाएतका विषयहरु मानवअधिकारका विषय हुन्। यी आधारभूत कुराहरुमा राज्यले विभेद गरिरहेको छ। शहरको मानिसले जस्तै यी कुरामा नेपालको कुनै कना काप्चामा जन्मिएको मानिसले पनि उस्तै सेवा सुबिधा पाउनु पर्छ। राज्य भनेको हुनेखानेका लागि होइन, जसको छैन उसको लागि हुनुपर्छ। समकालीन राजनीतिमा नेतृत्वको चरित्र सफा हुनु पहिलो आवश्यक्ता हो।

डा. स्वर्णिम वाग्लेः

राजनीतिको मूल लक्ष्ये नै समाज रुपान्तरण र व्यवस्थापन हो। राजनीति सत्ता प्राप्त गर्ने एउटा हथकण्डा भएमा राज्य सही ढंगले अगाडि बढ्दैन लगाएतका कुरा यो पुस्तकमा उल्लेख छन्। समकालीन राजनीतिक नेतृत्वले जनताको विश्वास गुमाउँदा अहिलेको अवस्था आएको हो। संविधान र पार्टीका घोषणा पत्रहरुमा अहिले धेरै कुराहरु देखाउनका लागि मात्रै समट्ने होडबाजी देखिएको छ। यसले राजनीतिलाई नराम्रोबाटो तिर धकेल्न मद्दत गरिरहेको छ।

जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना कुराहरुमा हाम्रो ध्यान पुगेको हुँदैन। तर, हामी ठूला ठूला सिद्धान्तका कुरा गरिरहेका हुन्छौँ। अब एउटा अवतरणको समय आयो। राजनीति जनताको जीवनस्तरसँग नजोडिकन राजनीति सफल र सफा हुँदैन। त्यसको सुरुवात अब हुन जरुरी छ। त्यसैले शिक्षा, स्वास्थ्य, यातायात, आवास र पर्यावरणमा राज्यले निगरानी गर्दै निजी क्षेत्रलाई ठाउँ दिएर अगाडि बढ्न सक्नु पर्दछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *