प्रधानमन्त्रीको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले भने- प्रधानन्यायाधीश सिफारिस ठिक लाग्यो
जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गरेका छन्।
कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवमा बोल्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको प्रशंसा गरेका हुन्।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रधानमन्त्री बालेनले क्रमभन्दा माथि उठेर सक्षमतालाई ध्यानमा राख्दै प्रधानन्यायाधीश सिफारिस गरेकामा मुख्यमन्त्री यादवले प्रशंसा गरेका छन्।
उनले प्रधानमन्त्री बालेनको निर्णय देशको लागि सौभाग्यपूर्ण साबित हुने उल्लेख गरे। वर्षौदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशको लागि नयाँ आयाम थप्ने मुख्यमन्त्री यादवको भनाइ थियो।
त्यस्तै, मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिका हावी नहुनु पर्नेमा जोड दिए। उनले कानुनको कार्यान्वयनको बिचमा राजनीतिक हस्तक्षेप हुनुनपर्ने उल्लेख गरे। यादवले उच्च अदालत जनकपुर अन्तर्गत रहेका मधेश प्रदेशका आठवटै जिल्लाका इजलाशहरुलाई निष्पक्ष रुपमा फैसला सुनाउन आग्रह गरे। उनले अपराधीलाई कारवाही होस र बेकशुरलाई सजाय नहोस भन्नेमा दृढ रह्न न्यायाधीशहरुसँग आग्रह गरे।
कानुन दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीस, अदालतका कर्मचारीहरुको उपस्थितिमा जनकपुरधाममा न्यायिक महोत्सवको आयोजना गरिएको छ।
आठवटा जिल्लाका १५०० भन्दा बढी अदालतमा काम गर्ने प्रत्यक्ष, अप्रत्यक्ष कर्मचारी, सर्वसाधारण, कानुन संकायका विद्यार्थीहरुको उपस्थिति छ।







डिसी नेपाल







Facebook Comment