मास्क नलगाउनेलाई कारवाही किन ?

तर्कबहादुर थापा
७ वैशाख २०७८ ७:३२

काठमाडौं। विश्वभर कोरोनाको महामारीले उग्र रुप लिइरहेको छ। दोश्रो चरणमा देखिएको विभिन्न भेरियन्टको कोरोनाका कारण आज विश्व त्राहीत्राही छ। नेपालमा पनि कोरोनाका विभिन्न भेरियन्टहरु भेटिएको बेलाबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिँदै आएको छ।

सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय, फिल्म हल र भीडभाड हुने ठाउँ बन्द गर्ने निर्णय गरेको छ। यस्तै होटेल तथा रेष्टुरेन्टलाई विहान ८ देखि राति ८ बजेसम्म मात्र संचालन गर्न निर्देशन दिएको भने मास्कन नलगाउनेलाई कारवाही गर्ने निर्णय पनि गरेको छ।

मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय कार्यान्वयन गरेको खण्डमा कोरोना महामारी कम हुने विज्ञहरुको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डमा पनि पर्ने मास्कले कोरोना महामारी हदैसम्म नियन्त्रण गर्नसक्ने जनस्वास्थ्यविदहरु बताउँछन्।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे यो मात्र नभएर भीडभाडमा जाने, भीडहरुको आयोजना गर्ने र मास्क नलगाउने सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउँछन्। उनले भने, ‘मास्क नलगाउनेलाई कारवाही राम्रै कुरा हो। अझ भीडभाडको आयोजना गर्ने, भीडभाडमा जानेलाई पनि निगरानी गर्ने वातावरण भए अझै कोरोना नियन्त्रणमा सहज हुनेथियो।’

कोरोना नियन्त्रणको प्रभावकारी उपाए भनेकै स्वास्थ्य मापदण्ड भएको डा. पाण्डेको भनाइ छ। पाण्डेले भने, ‘खोप आए पनि, स्वास्थ्यका जुन मापदण्ड छन् त्यो भन्दा बढी प्रभावकारी हुँदैन। मैले यसो किन भनेको भने, खोपले भन्दा धेरै राम्रो काम स्वास्थ्यका मापदण्डले गर्छन्। मैले त सुुरुदेखि भन्दै आएको हुँ स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गराउँ लकडाउन गर्नु पर्दैन।’

सामान्यतः भीडभाडमा नजाने, हरेक ठाउँमा २ मिटरको भौतिक दुरी कामय गर्ने, मास्क लगाउने, हात धुने, सेनिटाइजर लगाउनेलगायतका ब्यवहारले नै कोरोनाको चैन ब्रेक गर्ने डा. पाण्डेको भनाइ छ।

उनका अनुसार कोरोनाको नियन्त्रण भन्दा पनि जालोलाई भत्काउने काम नै प्रभावकारी हुन्छ। उनले भने, ‘व्यापक कन्ट्राक्ट ट्रेसिङ गने, आइसोलेसन र क्वारेन्टाइनलाई प्रभावकारी बनाउँने र स्वास्थ्यका मापदण्डलाई कडाईका साथ लागु गर्नेहो भने अझै पनि ठूलो क्षति हुनबाट जोगिन र जोगाउँन सकिन्छ।’

किन जरुरी छन् स्वास्थ्यका मापदण्ड

पछिल्ला तथ्याङ्कले नेपालमा २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाले बढी प्रभावित पार्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार गएको २४ घण्टामा मात्र यो उमेर समूहका ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

युवा अवस्थाका व्यक्तिहरुमा कोरोनाको महामरी फैलिनुलाई सहजरुपमा लैजान नहुने जनस्वास्थ्यविद् डा. पाण्डेको भनाइ छ। पाण्डेका अनुसार देशको उत्पादनशील जनशक्ति कोरोनाको चपेटामा परेको खण्डमा देशले ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ।

योसँगै कोरोनाको संक्रमणदर पनि बढ्दो क्रममा छ। नेपालमा आइसीयू र भेन्टिलेटर पनि प्राप्तमात्रामा छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १ सय ८ आइसीयू बेड खालि छन् भने,४ सय ६० भेन्टिलेटर खाली छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार प्रदेश १ मा १ सय १० आइसीयू र ४० भेन्टिलेटर उपभोग्य अवस्थामा छन्। यस्तै प्रदेश २ मा आइसीयू ४८, भन्टिलेटर २१, वाग्मतीमा आइसीयू ५५६, भेन्टिलेटर २५५ प्रयोग गर्न मिल्ने अवस्थामा रहेका छन्।

गण्डकी प्रदेशमा २४१ आइसीयू र ६७ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८५ आइसीयू, ४० भेन्टिलेटर, कर्णालीमा ३९ आइसीयू र १२ भन्टिलेटर र सुदूरपश्चिममा २९ आइसीयू र २५ भेन्टिलेटर प्रयोग गर्न मिल्ने अवस्थामा रहेका छन्।

नेपालमा महामारीको बढ्दो स्वरुपका अगाडि आइसीयू र भन्टिलेटरको संख्या एकदमै कम भएको विज्ञहरुको भनाई छ। त्यसैले पनि सरकारले स्वास्थ्यका मापदण्डलाई कडाईका साथ लागु गर्नु गराउनु पर्ने छ। त्यसको फलस्वरुप मास्न नलगाउनेलाई सरकारले कारवाही गर्नु परेको हो।

पछिल्लो कोरोनाको अवस्था

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार बढी कोरोनाका संक्रमित थपिएका छन्। नेपालमा पनि १ हजार २ सय बढी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

विश्वभरमा गत २४ घण्टामा ६ लाख ५४ हजार ५ सय ६० कोरोनाका संक्रमित थपिएका छन्। हालसम्म कोरोना पुष्टि हुनेको संख्या १४ करोड २६ लाख, ८६ हजार ५ सय ९० पुगेको छ।

गत २४ घण्टामा कोरोनको संक्रमणबाट ९ हजार बढीले ज्यान गुमाए। विश्वभरमा हालसम्म ज्यान गुमाउनेको संख्या ३० लाख ४२ हजार ८ सय ४४ रहेको छ। पछिल्लो २४ घण्टामा भारतमा मत्र १७ सय बढीले कोरोनाका कारण ज्यान गुमाउनु प-यो। नेपालमा भने हालसम्म ३ हजार ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *