महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि साइबर अपराधसम्मका घटना

डिसी नेपाल
९ वैशाख २०७८ १३:४६
24
Shares

काठमाडौं । राष्ट्रिय महिला आयोगमा बाल विवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार तीन सय ३३ घरेलु हिंसा र दुई सय ३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।

आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीका अनुसार यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसा तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्धविच्छेद, बहुविवाह, ज्यान मार्ने उद्योग, हत्या र कुटपिटविरुद्धका उजुरीसमेत उल्लेख्यरूपमा बढेको छ ।

जन्मदर्ता, विवाहदर्ता, नागरिकताको प्रमाणत्र प्राप्तिका निम्ति सिफारिश नपाएका, सम्पत्ति हस्तान्तरणका लागि आवश्यक कागजात नपाएका महिलाका उजुरी पनि आयोगमा प्रशस्तै दर्ता भएको जनाउँदै उनले साथी, बाल अधिकार संरक्षणमा क्रियाशील संस्था (सिविन), कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक), मानव सेवा आश्रम तथा स्थानीय निकायसँगको साझेदारीमा समस्या समाधानमा लागेको जानकारी दिइन् ।

पीडितलाई कानूनी परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, आश्रयस्थलको व्यवस्था, पुनःमिलन, उद्धार, औपचारिक शिक्षा र मानसिक स्वास्थ्य सेवा पनि आयोगले प्रदान गरिरहेको अध्यक्ष पराजुलीले बताइन् ।

‘खबर गरौँ ११४५ हेल्पलाइन’ सञ्चालन गरेर आयोगले उजुरी व्यवस्थापनका साथै बालबालिकाका लागि विशेष सहयोग, सेवा प्रदायक निकायसँग समन्वय, मुद्दा दायर गर्न सिफारिश गर्नुका साथै मेलमिलापसमेत गराउँदै आएको छ ।

२० वर्षअघि स्थापना भएको आयोग छ प्रदेशका १९ जिल्लामा विस्तार गरिएको छ भने यसलाई सातै प्रदेश एवं ७७ वटै जिल्लामा पुर्याउने मार्गचित्र तयार गरेर आयोग अघि बढिरहेको अध्यक्ष पराजुलीले जनाकारी गराइन् । साथै, पर्याप्त स्रोत र साधनको अभावमा लक्षित उपलब्धि हासिल गर्न कठिन भएको समेत उनको गुनासो छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *